तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम विश्वविद्यालयको मूल गेटमै विद्यार्थी सङ्गठनको अनसन 

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस मूल गेटमै टेन्ट लगाएर राष्ट्रिय प्रजातान्त्रिक पाटी निकट विद्यार्थी सङ्गठनले अनसन सुरु गरेको छ ।  

सुदूरपश्चिम विश्वविद्यालयमा दोहोरो शिक्षण विरुद्ध मङ्गलवारदेखि आन्दोलन सुरु गरेको राप्रपा निकट विद्यार्थी सङ्गठनले जनाएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कञ्चनपुरका अध्यक्ष मनिस बहादुर पालले विश्वविद्यालयमा दोहोरो शिक्षणले गुणस्तर खस्किँदै गएपछि दोहोरो शिक्षण हटाउने लगायतका माग राख्दै बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनु भयो । 

विश्वविद्यालयमा कार्यरत जो सरकारी कोषबाट तलब भत्ता खाने तर निजीमा लगानीदेखि समयसम्म दिने प्रवृत्तिले विश्वविद्यालय धराशायी बन्दै गएपछि दोहोरो शिक्षण अन्त्यका लागि रिले अनसन सुरु गरिएको आन्दोलनरत विद्यार्थीहरूको भनाइ छ । 

दोहोरो शिक्षण अन्त्यसँगै प्राध्यापक तथा कर्मचारीको भर्ना गर्नुपर्ने, आङ्गिक क्याम्पसमा समेत प्राध्यापक कर्मचारी दरबन्दी पदपूर्ति सहित विविध समस्या समाधान गर्नुपर्ने लगायतका माग राखिएको र माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने उहाँहरूको चेतावनी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button