कृषक समूहलाई बाख्रा वितरण

जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्रा बोका वितरण तथा अनुगमन गरेको छ ।
कार्यालयले प्रदेश कार्यक्रम “लक्षित वर्ग कृषि व्यवसाय प्रवर्धन कार्यक्रम” अन्तरगत छेडागाड नगरपालिका वडा नं. ४ मा सञ्चालित उद्यमशील कृषक बाख्रा पालन समूहलाई उन्नत जातका बाख्रा बोका वितरण गर्नुका साथै अनुगमन गरेको हो ।
बाख्रा पालनबाट किसानहरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप बाख्रा तथा बोका वितरण गरिएको हो ।

कार्यालयले उद्यमशील कृषक बाख्रा पालन समूहसँग सम्झौता गरेको र उक्त समूहले खरिद गरि ल्याएका उन्नत जातका बाख्रा बोका वितरणका साथै अनुगमन गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख कलम बहादुर महताराले बताउनुभयो । समूहमा आबद्ध १३ महिलालाई उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको महताराले बताउनुभयो ।
उद्यमशील कृषक बाख्रा पालन समूहका अध्यक्ष जैसेरा थापाले प्रदेश सरकारले बाख्रा पालक कृषकहरूको मागलाई सम्बोधन गरेर रकम उपलब्ध गराई बोका बाख्रा पाउँदा आफूहरू खुशि भएको बताउनुभयो ।
त्यसैगरी छेडागाड नगरपालिकाका उप प्रमुख चन्द्र बहादुर थापाले उन्नत जातका बाख्रा वितरणपछि छेडागाड नगरपालिका वडा नं ४ मा बाख्राको प्रवर्द्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको र बाख्रा प्रवर्द्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्ने गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्