तपाईँ सुन्दै हुनुहुन्छः

‘कला साहित्य र चलचित्रको प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्छ’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कला साहित्य र चलचित्रले सभ्यतालाई प्रतिबिम्बित गर्ने भएकाले राज्यले यसको प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कलाकर्मी एवम् चलचित्रकर्मीहरूसँगको भेटघाट कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको सकारात्मक रूपान्तरणमा कला र चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले आफूले यस क्षेत्रको विकास विस्तारका लागि पहल गर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले रोजगारी सिर्जनासँगै राजश्वमा योगदान दिने क्षेत्रका रुपमा चलचित्र क्षेत्रलाई आफूले पाएको उल्लेख गर्नुहुँदै सबै मिलेर नेपालको चलचित्र क्षेत्रको विकासबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालको चलचित्र क्षेत्रको समग्र विकासका लागि नयाँ चलचित्र ऐन चाँडो भन्दा चाँडो ल्याउनु जरुरी भएको बताउनुभयो ।

वरिष्ठ कलाकार वसुन्धरा भुसालले नेपालका चलचित्रकर्मी अपहेलित हुनु परिरहेको यथार्थता सबैले स्वीकार गर्नुपर्ने भन्दै चलचित्रकर्मी र कलाकारहरूको उचित व्यवस्थापनका लागि सुरु गरिएको चलचित्रकर्मी कल्याण कोषमा सरकारले कम्तीमा १० करोड रुपैयाँ प्रदान गरोस् भनी राष्ट्रपति मार्फत् माग गर्नुभयो ।

हाल त्यस कोषमा ५ करोड रुपैयाँ रहेको छ भने कलाकर्मीलाई अप्ठ्यारो परेका बेला आर्जित व्याजबाट सहयोग गरिँदै आएको छ ।

यस्तै कार्यक्रममा चलचित्र निर्देशक आकाश अधिकारीले नयाँ चलचित्र ऐन आउने हो भने नेपाली चलचित्र क्षेत्र बढी चलायमान हुने र यसबाट नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन मद्दत पुग्ने बताउनुभयो ।

भेटघाट कार्यक्रममा नेपालको पहिलो नायिका भुवन चन्द, वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठ, डा. भोला रिजाल, नायक शिव श्रेष्ठ, दीपाश्री निरौला लगायतको सहभागिता रहेको थियो ।
तस्वीरः सुनिल सि. बज्राचार्य, राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button