मध्यवर्तीमा बढ्दै वन्यजन्तु पर्यटन

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनहरूमा वन्यजन्तु अवलोकनका कार्यक्रमहरू हुने गरेका छन् । यसले सामुदायिक वनहरू पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएका छन् । सामुदायिक वनले, वन र वन्यजन्तु लक्षित गरि पर्यटकीय गतिविधिलाई बढाउँदै जाँदा वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या समेत बढ्दै गएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको गैँडाकोटदेखि त्रिवेणीसम्म वन र वन्यजन्तुमा आधारित पर्यटन फस्टाउँदै गएको छ । निकुञ्जसँग गाँसिएका धेरैजसो मध्यवर्ती सामुदायिक वनमा, वन र वन्यजन्तु अवलोकन गराउने कार्यक्रमहरू तय गरिएका छन् । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकबाट वनको आम्दानी समेत बढ्दो छ ।

यहाँका वनमा गैँडा अवलोकनलाई मुख्य रुपमा जोड दिइएको छ । गैँडासँगै ,बँदेल, मृग ,हरिण ,भालु, मयुर लगायतका वन्यजन्तु र चराहरूको अवलोकन गर्न सकिने हुँदा यसैलाई लक्षित गरि सामुदायिक वनमा जङ्गल सफारी गराउने गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । जङ्गल सफारीमा आउने पर्यटकबाट लिइने शुल्क वनको आम्दानीको स्रोत समेत भएको उहाँले बताउनुभयो । ‘निकुञ्जसँग जोडिएकाले यहाँ गैँडा अवलोकन प्रमुख मानिन्छ, त्यस बाहेकका वन्यजन्तु र चराहरू अवलोकनका लागि समेत उपयुक्त क्षेत्र भएकाले हामीले यसैलाई आधार मानी पर्यटनलाई प्राथमिकता दिएका छौ’ अध्यक्ष महतोले भन्नुभयो‘ यसै अनुसार मुख्य गरि जङ्गल सफारी गराउने गरिएको छ।’
मध्यवर्ती वन र निकुञ्ज क्षेत्र बिच भएर नारायणी नदी बग्ने हुँदा नदिमा आश्रित चराहरू अवलोकनका लागि समेत यो क्षेत्र महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । नदिको आसपासका रमणीय दृश्य आफैमा पर्यटकलाई आकर्षित गर्ने रहेकाले आफूहरूले सोही अनुसार वन भित्र ‘ इको करिडोर ’ निर्माण समेत गरेको उहाँले बताउनुभयो ।
सामुदायिक वनहरूले एकीकृत रुपमा वन र वन्यजन्तु अवलोकनका लागि मार्गहरू निर्माण गरेकाछन् । अमलटारी क्षेत्रमा पर्ने गुन्द्रही ढकाहा, शान्तीकुञ्ज, कृष्णसार ,नमूना मध्यवर्ती सामुदायिक वनले मिलेर दुई हजार बीस हेक्टरको ‘ इको करिडोर ’ निर्माण गरेका छन् । पर्यटकहरू सहजै वन्यजन्तुको अवलोकन गर्न सकुन् भनेर चारवटा वनहरूले संयुक्त रुपमा यस क्षेत्रमा पर्यटकीय मार्ग निर्माण गरेका हुन । पर्यटकले एक स्थानबाट प्रवेश गरेपछि चारै वटा वन क्षेत्रमा सहजै भ्रमण गर्न सक्ने अध्यक्ष महतोले बताउनुभयो ।
जिल्लाकै शिशवार उपभोक्ता समितिमा आबद्ध रहेका चार वटा मध्यवर्ती वनले समेत सामूहिक योजना बनाएका छन् । दिव्य , प्रगति , नारायणी र मातृभूमि मध्यवर्ती सामुदायिक वन मिलेर वनमा ‘सफारीको रुट’ बनाएका छन् । वन्यजन्तु अवलोकनलाई पर्यटकले प्राथमिकता दिने गरेकाले यसैलाई लक्षित गरिएको छ ।
नारायणी नदी किनार चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने मध्यवर्ती क्षेत्र पर्यटकको रोजाइमा पर्ने क्रम बढ्दै गए पछि वनहरूले सामूहिक योजना अगाडि बढाउन थालेका हुन् । वन क्षेत्र भित्र विभिन्न स्थानमा वन्यजन्तु अवलोकनका लागि मचान निर्माण सहित घाँसेमैदान र सिमसार व्यवस्थापनका लागि समेत वनहरू लागेका छन् ।
सामुदायिक वनहरूले ,वन र वन्यजन्तु लक्षित पर्यटकीय गतिविधि बढाउँदै जाँदा यी क्षेत्रहरूमा घरबास र होटलहरु स्थापना हुने क्रम बढेको छ । मध्यवर्ती सामुदायिक वनसँगै जोडिएर आधा दर्जन बढी घरबास स्थापना भइसकेका छन् । यो सँगै पर्यटकलाई लक्षित गरि सुविधा सम्पन्न होटलहरु स्थापना गर्ने क्रम समेत बढ्दो छ ।
मध्यवर्ती सामुदायिक वन, वन्यजन्तु अवलोकनको क्षेत्रका रुपमा विकास हुँदा , पर्यटक लक्षित गरि घरबास र होटलहरु खुल्ने क्रम बढेको घरबास एसोसिएसनका केन्द्रिय अध्यक्ष एवं अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशंकर मर्दनियार थारुले बताउनुभयो । ‘ मध्यवर्ती सामुदायिक वनमा गैँडा सहितका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकहरूको आगमन बढेको छ, सोही अनुसार पर्यटक लक्षित गरि घरबास र होटलहरु यस क्षेत्रमा खोल्ने क्रम समेत बढेको छ ’ उहाँले भन्नुभयो । धेरै जसो पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेको उहाँले बताउनुभयो । ‘वन र वन्यजन्तु अवलोकन पर्यटकको आकर्षणका रुपमा विकास भएको छ, यसमा आधारित पर्यटकीय गतिविधि बढ्दा ,यस क्षेत्रका संरक्षणकर्मी समेत उत्साहित छन्’ मर्दनिया थारुले भन्नुभयो ।
अहिले पर्यटक आगमन हुने समय हो । असोज महिनादेखि यहाँ पर्यटकहरूको आगमन हुने गर्छ । अहिले जीप सफारी गर्न धेरै पर्यटक आउने गरेका छन् । मर्दनियाका अनुसार दैनिक रुपमा पाँच वटा जिपमा सफारी हुँदै आएको छ । एउटा जिपमा १२ जना पर्यटक सफारी गर्न मिल्छ । धेरैजसो आन्तरिक पर्यटक नै आउँछन् । केही विदेशी पर्यटक समेत यहाँ आउँछन् । अमेरिका , स्पेन , भारत लगायतका देशबाट विदेशी पर्यटक आउने गरेको मर्दनियाले बताउनुभयो ।
कोभिडका कारण दुई वर्ष थलिएको पर्यटन व्यवसाय अहिले उकालो लागेको उहाँको पर्यटन व्यवसायी जीतनारायण थनेतले बताउनुभयो । पर्यटकको आगमनले यहाँका होम स्टे , रिसोर्टहरु फस्टाउन थालेको उहाँको भनाई छ । चितवनको छिमेकी जिल्ला भएर पनि धेरै पछि परेको नवलपुर जिल्ला वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधिले आर्थिक रुपमा सबल हुँदै गएको र देश विदेशमा परिचित समेत बन्दै गएको थनेतले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्