तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् विस्तार आज, ११:३० बजे शपथग्रहण

सर्वदलीय बैठक आजै

काठमाडौँ। मन्त्रिपरिषद् विस्तार आज( मङ्गलबार) हुने भएको छ । सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि आजनै शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको हो । राजनीतिक संयन्त्रको बैठकअघि मन्त्रालय बाँडफाँटको विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालकोटस्थित ओली निवासमा बिहानैदेखि छलफल भएको थियो । बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय बाँडफाँट सकिएको र आज दिउँसो ११:३० बजे शपथग्रहण कार्यक्रम तय भएको बताउनुभयो । उहाँका अनुसार त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको छ ।

उहाँले भन्नुभयो, “सोमबारको बैठकमा कुन–कुन पार्टीले कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा तय ग¥यौँ । मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ । आज दिउँसो ११:३० शपथग्रहणको कार्यक्रम छ । राष्ट्रपतिलाई जानकारी पनि गराइसकेका छौँ । यहाँ भएको निर्णय आ–आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै सार्वजनिक गरिने छ ।”

उहाँका अनुसार सरकार समर्थित नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा नआउने भएका छन् । “लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन सरकारलाई छ तर उहाँहरू आउने (मन्त्रिपरिषद्मा समावेश हुने) सम्भावना देखिएको छैन,” उहाँले भन्नुभयो ।

कुन दलले कुन–कुन मन्त्रालय पाए भन्ने प्रश्नमा मन्त्री लामिछानेले सहमतिमा पुग्यौँ तर पार्टीभित्र एक पटक सल्लाह गरौँ, अन्तिम चरणमा कुनै फेरबदल हुनसक्छ, त्यसैले मङ्गलबारै सार्वजनिक गर्ने तय भएको हो भन्नुभयो । जनता समाजवादी पार्टीले दुई मन्त्रालय मात्रै पाए सरकारमा सहभागी नहुने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले शपथग्रहणसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गर्नुभएको थियो । बिनाविभागीय मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान नियुक्त हुनुभएको थियो ।

सर्वदलीय बैठक आजै

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आज अपराह्न चार बजे आह्वान गर्नुभएको छ । मन्त्री लामिछानेका अनुसार मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button