तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा जहाज दुर्घटना : शव पहिचानमा समस्या 

कास्की । पोखरामा भएको जहाज दुर्घटनाका मृत्यु भएका शवहरूको पहिचानमा समस्या देखिएको छ । 

यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटना स्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक सिडियो गुरुदत्त ढकालले जनाकारी दिनुभयो ।  

कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यती एयरको विमान दुर्घटनामा परेर ६९ जनाको मृत्यु भएको छ । धेरै जलेको कारण ३ जनाको शव पहिचान गर्न समस्या भएको ढकालले जानकारी दिनुभयो । 

दुर्घटनामा ज्यान गुमाएका मृतकहरूका आफन्तहरू अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा भएका छन्  । तर आफन्तले आफ्नो मान्छेको शव हो कि होइन भनेर पहिचान गर्न नसकेको मृतकका आफन्तले बताएका छन् । 

विदेशी नागरिकहरू शव पहिचान गर्न सजिलो भए पनि नेपालीहरूको शव पहिचान गर्न आफन्तहरूले उनीहरूले यात्रा गर्दा लगाएको कपडा हातमा लगाएको औँठी शरीरमा खोपाएको ट्याटुका आधारमा पहिचान गरेका छन् । कतिपय शवहरू पुर्णरुपमा जलेका कारण पहिचान गर्न निकै समस्या परेको प्रतिष्ठानका निर्देशक भरच बहादुर खत्रीले जानकारी दिनु भयो । शव पहिचानमा समस्या देखिए पछि काठमाडौँ टोली पोखरा आएको छ । 

दुर्घटना स्थलबाट सङ्कलन गरिएकामध्ये ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । सुरक्षाकर्मीहरूले पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोचमा सोमबार बिहानैदेखि पुनः खोज तथा उद्धार सुरु गरेको छ । 

दुर्घटना स्थलबाट ६९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा लगिएको छ । एउटा शव खोँचमा देखिएको र सो शव निकाल्ने प्रयास भइरहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिनु भयो । 

सशस्त्र प्रहरी बलले सोमबार बिहान ४ जनाको शव खोँचबाट निकालेको छ । खोज तथा उद्धारमा सशस्त्र प्रहरी बलको गोताखोर पनि परिचालन गरिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ ।दुर्घटनामा परेका २६ जनाको सनाखत भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button