तपाईँ सुन्दै हुनुहुन्छः

बगैँचा व्यवस्थापनले सुन्तलाजात फलफूलको उत्पादन र गुणस्तर बढ्यो

नवलपुर । बुलिङटार गाउँपालिका दुई रामकोटमा किसान युगमाया वाचेले विगत १२ वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले चार वर्ष अघिसम्म परम्परागत रूपमै खेती गर्नुहुन्थ्यो ।  सुन्तला बगैँचाको  उचित समयमा काँटछाँट, मलजल  र विषादी राख्नुपर्छ भन्ने उहाँलाई जानकारी थिएन । जसले गर्दा सोचेजति सुन्तला उत्पादन पनि हुँदैनथ्यो । तर जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि उहाँले सुन्तला बगैँचाको व्यवस्थापन गर्न सिक्नुभयो । परियोजनाबाट अभियानकै रुपमा बगैँचा व्यवस्थापन गर्ने कार्य वर्षेनी हुन थालेपछि किसानको बगैँचामा पनि सुधार भएको छ । उत्पादन पनि बढेको छ । 

वाचे भन्नुहुन्छ – ‘धेरै फरक हुँदो रैछ , बगैँचा व्यवस्थापन गरेपछि त फल पनि राम्रो लाग्दो रैछ , गुलियो पनि हुने , उत्पादन पनि बढ्ने रैछ । ’ वाचेको पुरानो बगैँचामा ६० बोट सुन्तला छन् भने नयाँ बगैँचामा २५ सय बोट सुन्तला लगाउनुभएको छ । ‘परियोजना आउनुभन्दा अघि हामीले काँटछाँट गर्ने गर्दनथ्यौं, हामीलाई  बगैँचाको व्यवस्थापन गर्नुपर्छ भन्ने पनि थाहा थिएन । परियोजनाबाट  हामीलाई व्यवस्थापन गर्न सिकाउनुभयो । त्यसपछि हामीले  फल  दिने बोटमा फल सकिएपछि वर्षेनी काँटछाँट गछौँ, नयाँ बोटमा अलि छिटो हुन्छ ।  ’ वाचेले भन्नुभयो । 

उहाँजस्तै यहाँका सुन्तला जातका फलफूल खेती गर्ने किसानहरू यतिबेला बगैँचा व्यवस्थापनमा व्यस्त  छन् । गैँडाकोट १८ का किसान , युग बहादुर सारू मगर , गुप्त प्रसाद रेग्मीले पनि अहिले नयाँ बगैँचा व्यवस्थापन गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । परियोजना सुरु भएपछि उहाँहरूले सुन्तलाजात फलफूल खेती सुरुआत गर्नुभएको थियो । उहाँहरू दुवै जनाको बगैँचा नयाँ हो । किसान रेग्मीले ८० रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूल खेती गर्नुभएको छ । उहाँले ३ हजार बोट सुन्तला , कागती र निबुवाको बोट लगाउनुभएको छ ।  किसान मगरले डोँडे रतनपुर गाउँमा १६ रोपनी क्षेत्रफलमा सुन्तला र मौसम खेती गर्नुभएको छ ।

जिल्लाको पहाडी क्षेत्र बुलिङटार , बौदीकाली र हुप्सेकोटमा मुख्य सुन्तला र मध्यविन्दुमा कागती खेतीलाई लक्षित गरी चार वर्ष अघिदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तलाजात फलफूल जोन कार्यक्रम लागू भएको थियो । 

परियोजना लागू भएका क्षेत्रहरूमा अहिले अभियानकै रुपमा बगैँचा व्यवस्थापन सुरु गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई पूर्वी नवलपरासी कार्यालयले बगैँचा व्यवस्थापन अभियान सुरु गरेको हो । कार्यालयबाट गएको टोलीले बगैँचा व्यवस्थापन गर्ने तरिका किसानलाई जानकारी गराएको छ । कार्यालयको टोलीले माघको मध्यसम्म यो अभियान जारी राख्ने छ । गैँडाकोट , धौबादी , काफलडाँडा , छरछरे , रामकोट , देउराली , बबोक , राइकोटमा बगैँचा व्यवस्थापन कार्य गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाईका प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यालयको टोलीले  कुनै एक किसानको बगैँचामा सबै किसानलाई जम्मा गरेर बगैँचा व्यवस्थापन गर्ने तरिकाको बारेमा जानकारी गराउँछ । प्राप्त जानकारी अनुसार किसानले आ – आफ्नो बगैँचाको व्यवस्थापन गर्ने  शर्माले बताउनुभयो । ‘बगैँचा व्यवस्थापनको मुख्य समय यही हो । नयाँ पालुवा नपलाउँदै व्यवस्थापन  गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रुपमा अगाडि बढाएका छौँ । ’ शर्माले भन्नुभयो – ‘बगैँचा व्यवस्थापनको मुख्य काम भनेको चार काम हुन । पहिलो काम काँटछाँट गर्ने हुन्छ , जसमा चोर हाँगा , बाक्लो हाँगा , रोगी हाँगा र भित्र पट्टी फर्केको हाँगा हटाउने काम हुन्छ । त्यसपछि काटेको ठाउँमा विषादी लगाउनुपर्छ , त्यसमा हामीले बोडोपेस्ट लगाउँछौ , बोडोमिश्रण छर्छौँ । त्यसपछि तेस्रो काम भनेको मल राख्ने र चौथो काम भनेको सिँचाइ गर्ने काम हो । यी चार काम  व्यवस्थापनको मुख्य काम हो । यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको  बेलामा गर्नुपर्छ । ’

फल दिइरहेको ठूला बोटहरू जसले फल दिइरहेका छन्, त्यस्ता बोटहरू फल सकिएपछि मात्रै  व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने , ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने शर्माको भनाई छ । 

जिल्लामा सुन्तलाजात फलफूल अन्तरगत सुन्तला ४३८  हेक्टर , जुनार ७ हेक्टर , कागती २६५ हेक्टर र निबुवा ४१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button