तपाईँ सुन्दै हुनुहुन्छः

गाउँगाउँमा बजार अनुगमन, उपभोक्ता खुशी

सोलुखुम्बु । उपभोक्ताको हित संरक्षण गराउने क्रममा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पछिल्लो समय निकै सक्रिय देखिएको छ । विगतमा सदरमुकाम केन्द्रित हुने बजार अनुगमनलाई पछिल्लो समय स्थानीय तहसँगको समन्वयमा गाउँ केन्द्रित गरेको छ ।

प्रशासनले जिल्लाको नेचासल्यान गाउँपालिकाको मुख्य बिहीबारे बजार, माप्यदूधकोशी गाउँपालिका क्षेत्रका बजारको अनुगमन गरेको हो । शनिबार सरकारी कार्यालय बिदाको दिन पारेर प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उद्योग अधिकृत, उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको टोलीले नेचा क्षेत्रको बजारमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरू जफत गरेको हो ।

पटक पटक सचेत गराउँदा समेत कानुनी प्रक्रियामा आउन अटेर गर्ने व्यवसायीहरूलाई जरिवाना समेत गरेको छ । अनुगमनका क्रममा कतिपय होटलहरुमा केही दिन अघिदेखि पकाएर राखेको परिकारहरू समेत फेला परेको छ भने कतिपय किराना पसलहरूमा वर्षौँदेखि म्याद गुज्रिएका बस्तुहरू समेत बिक्रीका लागि राखिएको भेटिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो ।

त्यस्ता अखाद्य बस्तुहरूलाई प्रशासनले जफत गरेको छ भने अटेर गरी उपभोक्ताको हितलाई खेलबाड गर्ने र नियमको उल्लङ्घन व्यवसायीहरूलाई कारबाही पनि गरिएको प्रजिअ भट्टराईले बताउनुभयो ।

गाउँमा पुगेर बजार अनुगमन गरेपछि नेचासल्यानका उपभोक्ताहरूले भने प्रशंसा गरेका छन् । नेचासल्यान गाउँपालिका–३ का गोपी कट्टेलले यस प्रकारको बजार अनुगमन बेला बेला भइरहनुपर्ने माग समेत राख्नुभयो । उपभोक्ताको हित संरक्षण गर्ने दायित्व बोकेको राज्यको उपस्थितिले आफूहरूमा खुसीयाली छाएको स्थानीय बताउँछन् ।

नियमसंगत व्यवसाय गर्ने व्यवसायीहरू यसमा खुसी हुनुपर्ने भन्दै कानुनलाई छलेर उपभोक्ता ठग्ने र कानुनलाई नै नमान्नेलाई कारबाही हुनु स्वागत योग्य कुरा भएको स्थानीय एक व्यवसायी बताउनुहुन्छ ।

उपभोक्ताले प्रचलित मूल्य तिरेपछि उनीहरूको हित अनुसारको सामाग्री उपलब्ध गराउने दायित्व व्यवसायी र राज्यको पनि भएकाले बजार अनुगमनलाई थप सक्रिय बनाउने प्रजिअ बसन्त भट्टराईको योजना छ । 

उपभोक्ताको गुणस्तरीय वस्तु सेवा सेवा प्राप्त गर्ने अधिकार संरक्षण गर्नका लागि उपभोक्ताका विभिन्न अधिकारको व्यवस्था गरिएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको उपभोक्ताको अधिकार कार्यान्वयनमा ल्याउनु महत्त्वपूर्ण पक्ष भएको सरोकारवालाको भनाइ छ । 

ऐनको प्रभावकारी कार्यान्वयनबाट वर्तमान बजार व्यवस्थामा भएका कार्टेलिङ/एकाधिकार, कालोबजारी, भ्रामक विज्ञापन, कृत्रिम अभाव, मिसावटयुक्त र कमसल वस्तु बेचबिखन, अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुग्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button