तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा सरकार बनाउन दलहरुबीच रस्साकस्सी

धनगढी । प्रमुख राजनैतिक दलहरूले सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन कसरत शुरु गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नु भएसँगै दलहरू सरकार बनाउनका लागि आन्तरिक तथा बाह्य छलफलमा केन्द्रित भएका छन् । 

५३ सदस्यीय प्रदेश सभामा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा मिलीजुली सरकार गठन हुने निश्चित छ । संसदीय दलको नेता चयन पूरा गरेका दलहरू यतिवेला प्रदेश सरकारको नेतृत्व लिनका लागि छलफलमा जुटिरहेका छन् । यो प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीका लागि आन्तरिक रुपमा छलफल अघि बढाएको देखिन्छ । 

केन्द्रीय सत्ता समीकरणलाई हेर्दा यो प्रदेशमा सत्ता गठबन्धन दलहरूको बहुमत रहेको छ । यद्यपि नागरिक उन्मुक्तिले प्रदेश सरकार गठनमा कुन दलसँग समीकरण गर्ने भन्ने टुङ्गो नलगाउँदा सरकार गठनमा सकस देखिएको छ । त्यसैले प्रदेशमा पहिलो दल रहेको नेपाली काँग्रेसले नागरिक उन्मुक्तिसँग समीकरण गरि मुख्यमन्त्री लिने प्रयास थालेपछि सरकार गठनका लागि दलहरू बिच रस्साकस्सी बढ्ने निश्चित झैँ छ । 

दलहरूले औपचारिक रुपमा मुख्यमन्त्रीको दाबी नगरेपनि आन्तरिक रुपमा सरकारको नेतृत्वका लागि छलफलसँगै दौडधुपलाई तीव्र पारेका छन् । मुख्यमन्त्रीका आकाङ्क्षी रहेका एमाले, माओवादी, काँग्रेसका नेताहरू काठमाडौँ पुगेर शीर्ष नेतृत्वसँग भेटघाटमा रहनु भएको छ भने प्रदेशमा समेत विभिन्न दलहरूसँग संवाद अघि बढाएको देखिन्छ । 

नेकपा एमाले प्रदेश सचिव एवं प्रदेश सभा सदस्य धर्मराज  पाठक सरकार गठनका विषयमा दलहरू छलफल भइरहेको बताउनुहुन्छ । सरकारको नेतृत्वका लागि एमालेको दाबी छ, तैपनि केन्द्रबाट जे निर्देशन आउँछ, त्यसै अनुसार अगाडि बढ्छौ, उहाँले भन्नुभयो । नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशमा ठुलो दल काँग्रेस भएकाले मुख्यमन्त्रीका लागि दलहरूसँग वार्ता, संवाद गर्नु स्वभाविक भएको बताउनुभयो । 

नागरिक उन्मुक्ति, नेकपा एसलाई मिलाएर सरकार गठनका लागि प्रयत्नशील रहेको  उहाँले बताउनुभयो । सत्ता गठबन्धन दल भित्र माओवादी केन्द्र सबैभन्दा ठुलो दल भएकाले मुख्यमन्त्री पाउने दाबी गरिएको छ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश धामीले भन्नुभयो यसका लागि दलहरूसँग कुराकानी अघि बढिरहेछ । 

आन्तरिक छलफलमा मुख्यमन्त्री पाए सरकारमा जाने सङ्केत गरेको नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरी सरकार भन्दा पनि राजबन्दीको रिहाइ प्राथमिकता भएको बताउनुहुन्छ । सरकार गठनका लागि नागरिक उन्मुक्ति निर्णायक देखिन्छ । यो प्रदेशमा काँग्रेस १९, एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७,नेकपा एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यो प्रदेशमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई पुस २७ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button