तपाईँ सुन्दै हुनुहुन्छः

चिसोले खुम्बुको जनजीवन कष्टकर, तापक्रम माइनस २ भन्दा कम

सोलुखुम्बु । चिसोले खुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् ।

शुक्रवारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिनुभयो । चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाइ भएको बताइएको छ ।

चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी प्रभावित बनाएको छ । लुक्लाको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियस भन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ । लुक्ला भन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस २ भन्दा कम रहेको बताइएको छ । तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको हो ।

खुम्बु क्षेत्र सहित सोलुदूधकुण्ड नगरपालिकाका अधिकांश वडाहरूमा पछिल्लो समयमा चिसो बढ्न थालेपछि जनजीवन प्रभावित बनेको छ । केही दिनयता मौसममा खराबी भएपछि स्थानीय बासिन्दा तथा चौपायाहरू प्रभावित भएका हुन् ।

सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिकेडाँडा, टाक्सिन्दु, वेनी, जुभिङ्गलगायत आधादर्जन गाविस सहित आसपासका डाँडाहरूमा सेताम्मे तुसारो परेकाले चिसोमा अत्यधिक वृद्धि भएको  छ । चिसो बढे लगत्तै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । चिसोका कारण हुने निमोनिया, रुघाखोकी, टाइफाइड, ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । 

चिसोमा बिरामी हुनबाट बच्नका लागि न्यानो कपडा लगाउने तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । बाक्लो कुइरो समेत लाग्न थालेपछि जिल्लाको माथिल्लो तथा तल्लो क्षेत्रमा अत्यधिक चिसो बढेको हो । अहिले सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दाहरूलाई चिसोले घर बाहिर निस्किन समस्या भएको पाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button