तपाईँ सुन्दै हुनुहुन्छः

नेचासल्यानमा पहिलो पटक ‘क्लोथ बैङ्क’ को थालनी

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जिल्लाकै पहिलो पटक ‘क्लोथ बैङ्क’ अभियानको थालनी भएको छ ।

जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल नेचासल्यान ३ ले सुरु गरेको अभियानको पहिलो दिन २५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।

‘हुनेले दिनुस् जरुरी हुनेले लिनुस्’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानमा सुरु भएको ‘क्लोथ बैङ्क’मा कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक हुनेले लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष बिना राईले उद्घाटन गर्नुभएको अभियानको पहिलो दिन स्थानीय रविलाल जमरकट्टेलले ७२ हजार ३५० रुपियाँ, रमेश केसी जमरकट्टेल र राजु राउतले ३७ हजार २७५ रुपियाँ हजार बराबरको कपडा अभियानलाई सहयोग गर्नुभएको छ ।

त्यस्तै, उदयपुर कटारीका दिलदार हुसेनले ६५ थान, स्थानीय विनोद पुरुष भारद्वाजले एक सय थान, गीता बास्तोलाले ८० थान, गोपाल बास्तोलाले २४ थान, छवि जमरकट्टेलले २० थान, राजेश जमरकट्टेलले १५ थान, रोहित आचार्य ३३ थान, सल्लेरीका शिव कार्कीले आठ थान, स्थानीय कमला खनालले सात थान, रोहन राईले १० थान र हेम भट्टराईले २७ थान कपडा सहयोग गरेको प्रतिष्ठानका महासचिव जमरकट्टेलले जानकारी दिनुभयो ।

निरन्तर चल्न यस अभियानलाई सहयोग गर्न चाहने र लाभ लिनेले प्रतिष्ठानलाई सम्पर्क गर्न सकिने जनाइएको छ । कतिपय नागरिकहरूसँग प्रशस्त कपडा भएपनि कतिपय अभावले समस्या झेल्न बाध्य भएकाले यो कदम चालिएको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद जमरकट्टेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button