तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा अधिकार विषयमा कार्यशाला 

दोलखा । ७४ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शिक्षाको लागि राष्ट्रिय अभियान (एनसिई, नेपाल) ले शिक्षा अधिकार: मानव अधिकार विषयक कार्यशाला आयोजना गरेको छ । 

कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले गुणस्तरीय शिक्षाको लागि शैक्षिक कार्यक्रमसँगै रोजगारी र अधिकारको विषय पनि अगाडी बढाउनु पर्ने बताउनु भयो । उहाँले भीमेश्वर नगरपालिकाको शैक्षिक गुणस्तर सुधारको लागि नगरले सबैको समन्वयमा उपयुक्त नीति तथा कार्यक्रम सञ्चालन गर्ने र त्यसमा सरोकारवालाहरूको समेत साथ रहनुपर्ने बताउनु भयो ।  

कार्यशालामा कुटिडाँडा मावि मकैबारीका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठले शैक्षिक सुधारका लागि अपनाउनु पर्ने विधिहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

एनइसि नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेलको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेत, पत्रकार महासङ्घ दोलखा शाखाका सचिव दिलबहादुर केसी, भीमेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत अर्जुन कार्की, एनईसि नेपाल दोलखाका सचिव विनिता शिवाकोटी लगायतले शैक्षिक सुधारमा स्थानीय तह लगायत सरोकारवालाहरुले खेल्नुपर्ने भूमिकाको विषयमा सुझाव दिएका थिए । 

कार्यक्रममा इन्सेक, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक, नेपाल) दोलखा, नेपाल पत्रकार महासङ्घ दोलखा, नेपाल बार एशोसियसन दोलखा, आवाज नेपाल दोलखा र मानव अधिकार एलायन्स दोलखाले सहकार्य गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button