तपाईँ सुन्दै हुनुहुन्छः

पछिल्ला वर्षहरूमा भ्रष्टाचारका उजुरी फर्स्यौट दर बढ्यो

नेपालगञ्ज । भ्रष्टाचारका उजुरी फर्स्यौट दर बढेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले अन्तर्राष्ट्रिय अख्तियार दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पछिल्ला वर्षहरूमा भ्रष्टाचारका उजुरी फर्स्यौट दर बढेको जनाएको हो । 

कार्यालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा फर्स्यौट दर ६९.५९ प्रतिशत देखिएको छ । जबकि अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा ६४.५३ र २०७६/७७ मा ४४.३५ प्रतिशत उजुरी फर्स्यौट भएको तथ्याङ्क छ । 

बाँके, बर्दिया, दाङ र रोल्पा कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष ७५३ उजुरीमा ५२४ उजुरी फर्स्यौट गरेको जनाइएको छ । 

कार्यालय प्रमुख विजयराज पौडेलले उजुरी फर्स्यौटलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरिरहेकाले फर्स्यौट दर बढेको बताउनुभयो । 

यद्यपि जनशक्ति अभावले सोचे अनुरुप प्रगति अझै हासिल हुन नसकेको उहाँले बताउनुभयो  । उहाँले उजुरी पर्दैमा डराउनु नपर्ने भन्दै गलत काम आजैदेखि नगर्ने प्रण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रमाण पुष्टि नहुने खालका उजुरीमा मुद्दा नचलाइने पनि स्पष्ट पार्नुभयो । 

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्तव्यपालनका क्रममा नियत सफा राखे समस्या नपर्ने बताउनुभयो । उहाँले कसैको सामाजिक प्रतिष्ठामा आँच आउने गरी नियत बस परेका उजुरीमाथि अनुसन्धान गर्दा ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले माइक्रो लेभलमा अनुसन्धानको खाँचो रहेको बताउनुभयो । 

उहाँले गलत कामलाई नाइँ भन्न सक्ने आँट विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले स्थानीय तहका उजुरी बढी आउने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । स्थानीय तहका शिक्षा, उपभोक्ता समिति, विकास निर्माण लगायतका विषयमा बढी उजुरी पर्ने गरेको उहाँले बताउनुभयो । 

विभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मीलगायत उपस्थित कार्यक्रममा सहभागीहरूले विभिन्न सल्लाह सुझाव दिनुका साथै जिज्ञासा पनि राख्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button