तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीका एक वर्षमा १२ वटा हत्याका घटना

सुनसरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि नोभेम्बर ८ सम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो ।

जिल्लामा २०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गते सम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका १२ वटा, बलात्कारका ८७ वटा, बलात्कार प्रयासका ३१ वटा, बहुविवाहका २४ वटा, मानव बेचबिखन तथा ओसारपसारका पाँच वटा, बाल यौन दुर्व्यवहारका २० वटा घटना अभिलेखीकरण गरिएको इन्सेक सुनसरीले जनाएको छ ।

जिल्ला प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा नेपालमा १० वर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरूको नागरिकलाई जसरी अनुभूति दिलाउनुपर्ने थियो त्यसरी दिन सकेको छैन भनिएको छ ।

समीक्षा कार्यक्रममा नेपाली काँग्रेस सुनसरी सचिव वीरेन्द्र कुमार साहले नागरिकको मानव अधिकारको पूर्ण अनुभूतिका लागि राजनीतिक रुपमा पनि सचेतना र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक सरोकारका इनरुवा संयोजक नविनचन्द साहले गाउँमा अझै पनि छोरीलाई शिक्षा राम्रोसँग दिन नसकेको घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकले ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दल कुमार राईले नेपाल प्रहरी अपराध न्यूनीकरण गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउनका लागि प्रतिबद्ध भएर काम गर्दै आएको बताउनुभयो ।

नागरिक समाजका जिल्ला अध्यक्ष पुरुषोत्तम घिमिरेले नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्था चित्रण गर्ने र त्यसमा सुनसरीको पनि रिपोर्ट राम्रो जानुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र मण्डल (पप्पु)ले मानव अधिकारको संरक्षण, संवर्द्धन राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले कानुनलाई राम्ररी पालना गरेर र सुशासन कायम गरेर मानव अधिकार हननका घटनामा कमी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता सुकदेव चौधरीले धेरैजसो मानव अधिकार हननका घटनाहरू गरिब, विपन्न र दलित समुदायको हुने गरेको हुँदा त्यस समुदायमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button