तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली मौलिक संस्कृतिलाई विश्व सामु परिचित गराउन नेपाली हस्तकलाको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको प्राचीन कला संस्कृतिको संरक्षण गरी नेपाली मौलिक संस्कृतिलाई विश्व सामु परिचित गराउन नेपाली हस्तकलाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

१९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट उत्पादित सामानको निर्यातबाट नै मूलकको व्यापार घाटा कम गरी आर्थिक सन्तुलन कायम राख्न सकिने बताउनुभयो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी बस्तु खरिद गर्नुपर्ने लगायतका सरकारले गरेका नीतिगत व्यवस्थाका कारण उद्यमशीलतामा विकास भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली परम्परागत सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सीपमूलक तालिम र व्यावसायिक शिक्षालाई एक साथ अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले हस्तकला ग्राम स्थापना गर्ने कार्य शुरु गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले आफ्नै देशमा उत्पादित सामानको प्रयोग गर्न आग्रह गर्नुहुँदै हस्तकला क्षेत्रको विकासका लागि हस्तकला विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको कला संस्कृतिलाई विश्वव्यापी बनाउन र पर्यटन प्रवर्धनका लागि नेपाली हस्तकलाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सामूहिक बजारीकरणबाट आन्तरिक रोजगारी सिर्जना गरी बढ्दो व्यापार घाटा कम गर्न समेत हस्तकला महत्त्वपूर्ण रहेको बताउनुभयो ।

महासङ्घका अनुसार गत वर्ष १२ अर्बभन्दा बढीको हस्तकलाका सामग्री निर्यात भएको र ८ लाखभन्दा बढीले हस्तकला उद्योगमा रोजगारी प्राप्त गरेका छन् ।

यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मेलामा १ सय ३० स्टल रहेको र १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button