तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी तरकारीबाट छ महिनामा १७ करोड २३ लाख आम्दानी

सल्यान । सल्यानमा ६ महिनामा १७ करोडको बेमौसमी तथा मौसमी तरकारी जिल्लाबाहिर निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार १७ करोड २३ लाख १६ हजार ५९० रुपैयाँ बराबरको ताजा तरकारी र फलफूल निकासी भएको छ ।

गत जेठ २३ गतेदेखि कार्तिक ३० गतेसम्म ४२ लाख नौ हजार ९२ किलो ताजा तरकारी तथा फलफूल कपुरकोटस्थित तरकारी बजारबाट किसानहरूले बिक्री गरेको बजार केन्द्रले जनाएको छ ।

देशकै ठूला तरकारी बजार मध्येको सल्यान कपुरकोबाट वर्षेनी करोडौँको तरकारी जिल्ला निकासी हुने गरेको छ । छ महिनाको अवधिमा कपुरकोटस्थित तरकारी बजारबाट ४१ लाख २३ हजार २९१ किलो ताजा तरकारी, ६७ हजार ३७० किलो अदुवा र १८ हजार ४३१ किलो फलफूल निकासी भएको कृषि उपज बजार केन्द्रका कर्मचारी चन्द्रमणि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले विशेष गरी टमाटर, काउली, बन्दागोपी, भेडे खुर्सानी, सिमी, फर्सी, आलु, काँक्रा, गाजर, हरियो धँनिया, अदुवा लगायतका बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्ने गर्दछन् । यहाँबाट सबै भन्दा बढी टमाटर निकासी हुने गरेको छ ।

जेठ २३ देखि कार्तिक ३० गतेसम्म निकासी भएको ४२ लाख नौ हजार ९२ किलो तरकारी मध्ये १३ लाख ८१ हजार ३४३ किलो टमाटर निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटको विवरणमा उल्लेख छ ।

कपुरकोट क्षेत्रमा किसानहरूले व्यावसायिक रुपमा बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गरेका छन् । खेतीयोग्य जमिनको अधिकांश जमिनमा किसानहरूले विगतका वर्षदेखि नै ताजा तरकारी, फलफूल र अदुवा खेती गर्दै आएका छन् ।

गत वर्षको तरकारी सिजनमा पनि कपुरकोट तरकारी बजारबाट ४० लाख ५० हजार ७९ किलो तरकारी बिक्री गरेका थिए । जसबाट १८ करोड ७७ लाख १८ हजार ४११ रुपैयाँ आम्दानी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button