तपाईँ सुन्दै हुनुहुन्छः

सडकले दुर्गममा फोहोर व्यवस्थापनसँगै आम्दानी

सोलुखुम्बु । सोलुखुम्बुको निकै दुर्गममा रहेको महाकुलुङमा सडक पुगेपछि फोहोर व्यवस्थापनमा सहज भएको छ भने आम्दानी समेत राम्रो हुन थालेको छ ।

गाउँमा सडक सञ्जाल पुगेसँगै यहाँका बासिन्दाले वर्षौँदेखि खेर फालेका कवाडी सामानहरूको बिक्री हुन थालेपछि स्थानीयले आर्थिक लाभ लिनुका साथै वातावरण सरसफाईमा समेत टेवा पुगेको हो ।

केही समय अघिसम्म त्यतिकै फालिने फलाम तथा सिलवरका टुक्रा, कागज, प्लाष्टिक जस्ता कवाडीका समानहरू वातावरण सरसफाईमा समेत चुनौती बनिरहेको अवस्थामा पछिल्लो समय कवाडीका सामाग्री खोज्न गाउँ गाउँ व्यापारी आउन थालेपछि आम्दानीको स्रोत बन्न थालेको स्थानीय मनुहाङ किराँतीले बताउनुभयो ।

पहिला जथाभाबी फाल्ने गरेका सामानहरू अहिले विक्री हुन थालेपछि धेरैले आम्दानी गर्न थालेको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम सल्लेरीबाट सिधा सडक सञ्जाल पुगेसँगै कवाडीका सामान खरिदका लागि भारतीय मूलका नागरिकहरू महाकुलुङ पुग्न थालेका छन् । 

उनीहरूले गाउँमा किलोग्रामका हिसाबले खरिद गर्ने कागज सहित फलामका टुक्राहरू तथा आल्मोनियमका काम नलाग्ने सामाग्रीहरू गाडीमार्फत कारखानाहरूमा लैजाने गरेपछि काम नलाग्ने सामानहरू अहिले खोजी खोजी बिक्री गर्ने क्रम बढेको महाकुलुङ गाउँपालिका ४ की रुपा कुलुङ बताउनुहुन्छ । 

गाउँघरमा काम नलाग्ने वस्तुहरू सदुपयोग गर्न सकिन्छ भन्ने कल्पना समेत नगरेका यहाँका बासिन्दाका लागि कवाडी बिक्रीबाटै आम्दानी हुँदा खुशी भएको बताउँछन् । तर यसलाई थप व्यवस्थित गर्न करको दायरामा ल्याउने गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताउनुभयो । यो काम हरेक हिसाबबाट राम्रो भएकाले स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार यसलाई थप व्यवस्थित गर्न कानुनी दायरामा ल्याउने उहाँको भनाइ छ ।

काम नलाग्ने वस्तुहरूको सदुपयोगले एकातर्फ वातावरण सरसफाईमा सहयोग पुगेको छ भने अर्कोतर्फ स्थानीयले फोहोरबाटै राम्रो कमाई कमाइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button