तपाईँ सुन्दै हुनुहुन्छः

निलम्बन फुकुवा विरुद्धको रिट निवेदनमा पहिलो बहस सकियो

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिट निवेदनमा पहिलो बहस सकिएको छ । 

आजको पहिलो सुनवाइमा कानुन व्यवसायीहरूको बहस सकिएपछि आदेश आउन भने बाँकी छ । 

कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासमा जबराको निलम्बन फुकुवा विरुद्धको रिटमा सुनुवाई सुरु भएको थियो । 

संवैधानिक इजलासमा आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, गोपालकृष्ण घिमिरे, कृष्णप्रसाद भण्डारी र टिकाराम भट्टराईले बहस गर्नुभएको थियो । 

बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले महासचिव गौतमलाई महाअभियोग निष्क्रिय गर्ने अधिकार नभएकाले सो निर्णय बदर हुनुपर्ने जिकिर गर्नुभयो । 

बहसमा उहाँहरूले निलम्बनमा रहेका जबरा र महासचिव गौतमविच लाजसाजी र मिलेमतोले संवैधानिक व्यवस्थालाई समेत खलल पार्ने काम भएकाले गौतमलाई राजद्रोह र जालसाजीमा कारबाही अघि बढाउनुपर्ने समेत बताउनुभयो । 

संघीय संसद्का महासचिव भरतराज गौतमले जबरालाई निलम्बन फुकुवाको पत्र दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्यसहितले बुधबार सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । 

सर्वोच्च अदालतले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको थियो । 

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जबरा २०७८  फागुन १ गतेदेखि निलम्बनमा पर्नुभएको थियो । 

मङ्सिर २१ गते संघीय संसद्का महासचिव गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र दिनुभएको थियो । 

संघीय संसद्का महासचिव गौतमले जबराको निलम्बन फुकुवाको पत्र पठाएपछि सर्वोच्चको पूर्ण बैठकले महाअभियोग निष्प्रभावी हुने संवैधानिक र कानुनी आधार प्रष्ट्याउन भन्दै संसद् महासचिवसँग जवाफ समेत मागेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button