तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकबाट एउटै पालिकाले उठायो तीन करोड बढी राजस्व

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट तीन करोड ६२ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

चालु आर्थिक वर्षको मङ्सिर २० गतेसम्ममा १५ हजार ३१३ पर्यटकहरू खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ । जसमा साउन महिनामा २०३ जना, भदौमा ६६१ जना, असोजमा पाँच हजार ६२९ जना, कात्तिकमा सात हजार ७८६ जना र मङ्सिर १५ गते सम्ममा एक हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।

पालिकाले प्रति विदेशी पर्यटक दुई हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईँले जानकारी दिनुभयो । उक्त शुल्क गाउँपालिकाको राजस्व खातामा दाखिला हुने अधिकृत चापागाईँले बताउनुभयो ।

दस वर्ष भन्दा कम उमेरका, कूटनीतिक नियोगका व्यक्तिहरू तथा नेपाल सरकारबाट निर्णय भएर खोज तथा अनुसन्धानमा आएका व्यक्तिहरूलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

मुलुक सङ्घीयतामा गएसँगै २०७४ सालमा पहिलो पटक स्थानीय सरकारले निर्णय गरेर पर्यटकहरूबाट पालिकाले छुट्टै राजस्व सङ्कलन गर्न थालेको हो । सगरमाथा क्षेत्र भ्रमण गर्न आउने विदेशीहरूलाई सगरमाथा राष्ट्रिय निकुञ्जले पनि शुल्क लिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button