तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय र सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक बताउनुभएको छ । 

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भ्रष्टाचार निस्तेज पार्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारी कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणका काम निर्धारित समयमा सम्पन्न गरी सुशासनको अनुभूति दिन राज्यका सबै निकायले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

उहाँले भ्रष्टाचारको दुष्परिणाम भावी पुस्ताले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरुद्ध नियमित रुपमा सचेतनाका अभियानहरू सञ्चालन गरी भ्रष्टाचार गर्ने मनोवृत्तिमा परिवर्तन गर्न आवश्यक रहेका बताउनुभयो । 

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले भ्रष्टाचार नियन्त्रण विकासोन्मुख देशहरूको साझा समस्या भएको उल्लेख गर्नुहुँदै यसको नियन्त्रणका लागि सदाचारलाई प्रोत्साहन र पुरस्कृत गर्ने नीति लिनुपर्ने बताउनुभयो । 

मुख्य सचिव बैरागीले भ्रष्टाचारले जनतामा सार्वजनिक सेवा प्रति अविश्वास र निराशा बढाउने बताउनुहुँदै सार्वजनिक सेवामा जनताको समान पहुँच सुनिश्चित गर्न सके भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्ने पनि बताउनुभयो । 

ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका अध्यक्ष पद्यिनी प्रधानाङ्गले भ्रष्टाचारले नेपाल जस्ता विकासोन्मुख देशहरूमा लोकतन्त्र र मानवअधिकारको अवस्थालाई समेत कमजोर बनाउँदै लगेको बताउनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सूचना प्रविधिको प्रयोग गरी आयोगले भ्रष्टाचारको जोखिम बढी रहका क्षेत्रमा निगरानी बढाइरहेको बताउनुभयो । 

प्रमुख आयुक्त राईले भ्रष्टाचार विरुद्धको अनुसन्धानलाई वस्तुनिष्ठ र प्रभावकारी बनाउन आयोगले अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको पनि बताउनुभयो । 

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित भएको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर ९ मा विश्वभर नै विभिन्न कार्यक्रम गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button