तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार प्रेरणाको ‘सुश्री पारिजात’ सार्वजनिक

काठमाडौँ । साहित्यकार गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ सार्वजनिक भएको छ । 

काठमाडौँको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित कार्यक्रममा शिरीषको फूल उपन्यासबाट मदन पुरस्कार पाउनुभएकी सशक्त लेखक पारिजातको जीवनीमा आधारित सुश्री पारिजात पुस्तक सार्वजनिक गरिएको हो । 

कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पारिजातको व्यक्तित्व र उहाँको साहित्यिक यात्रा एवं जीवन जगतबारे आफ्ना धारणा राख्दै पारिजातका विषयमा खोजमूलक पुस्तक ल्याउनु आफैँमा चुनौतीपूर्ण रहेको बताउनुभयो ।

श्रेष्ठले पारिजात इतिहासकै महान् लेखक भएको उल्लेख गर्दै उहाँका विषयमा  यसअघि पनि कृति लेखिएका छन्, पछाडि पनि लेखिएलान् तर पारिजातको विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अरू भन्दा फरक छ,’ उहाँले भन्नुभयो, ‘यो पुस्तक लेख्न साहित्यकार प्रेरणाले दुई दशक लगाउनु भएको छ भने यसमा पक्कै केही विशेष छ ।’

प्राध्यापक भुवन ढुङ्गानाले पारिजातका विषयमा सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताउनुभयो ।

पारिजातको व्यक्तित्वको विषयमा चर्चा गर्दै उहाँले समग्रमा यो पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र नभई उहाँका कृतिहरूको बारेमा जान्नको लागि पनि उपयोगी रहेको बताउनुभयो ।

लेखक प्रेरणाले ‘सुश्री पारिजात’ पुस्तक लेख्न आफूलाई वर्षौँ लागेको र यसका सामग्री खोज्न र अध्ययन अनुसन्धान गर्न लामो समय खर्चिएको बताउनुभयो ।

जीवनी लेख्न शुरु गर्दा प्रेरणाले आफूसँग भएका थुप्रै नाममध्ये पारिजात नै छानेको उल्लेख गर्दै दुई दशकको समय लगाएर यो पुस्तक तयार पारेको बताउनुभयो ।

लेखक पारिजातलाई प्रत्यक्ष रुपमा भेटेर गरेका संवाद अनि उहाँका विविध अन्तरङ्ग सम्बन्धहरूका विषयमा पनि यस पुस्तकमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

विभिन्न नेपाली तथा विदेशी साहित्यकारहरूका फुटकर जीवनीमूलक रचना लेख्दै आएका प्रेरणाको पूर्ण जीवनी पुस्तक भने ‘सुश्री पारिजात’ पहिलो हो । 

साहित्यकार प्रेरणाका यसअघि पनि विभिन्न कथा सङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, नियात्रा,  निबन्ध सङ्ग्रह, समालोचना लगायतका थुप्रै कृतिहरू सार्वजनिक भइसकेका छन् ।

नारायणी वाङ्मय पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मैनाली कथा पुरस्कार, वासु शशी स्मृति साहित्य पुरस्कारलगायतका पुरस्कारहरू तथा विभिन्न सम्मान प्राप्त गर्नुभएका प्रेरणाका केही रचना हिन्दी, अङ्ग्रेजी, मलाय, टर्किस, चिनियाँ तथा बङ्गाली भाषामा समेत अनुवाद भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button