तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एक दिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्याे ।

स्कटल्याण्डको जीतमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाए । त्यस्तै कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहे ।

नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए भने सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए । क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए । विभिन्न सात टोली सहभागी विश्वकप लिग दुईमा जीतसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल भने २४ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतियोगितामा नेपालले नामिबिया विरुद्धको पहिलो खेलमा वर्षा बाधक बन्दा अङ्क बाँडेको थियोे । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेट तथा तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button