तपाईँ सुन्दै हुनुहुन्छः

कालीकोटमा आयोडिनयुक्त नुनको अभाव

कालीकोट | कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ ।

जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो ।

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो । चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले तीन हजार पाँच सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा हालसम्म तीन सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय कालीकोटका कर्मचारी लालबहादुर बमले जानकारी दिनुभयो ।

साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय कालिकोटले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई आयोडिनयुक्त नुन लिन नआउन आग्रह गरेको छ । ढुवानीकर्तालाई नियमित ताकेता गर्दा पनि मागअनुसार नुन ढुवानी नगरेको शाखा कार्यालयका कर्मचारी बमको भनाइ छ ।

“आयोडिनयुक्त नुन ढुवानी गर्नका लागिका ठेकेदार कम्पनी मानेनन्”, उहाँले भन्नुभयो, “ढुवानीका अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।”

कालीकोट जिल्लामा साल्ट ट्रेनिङ कर्पोरेशनले अन्य ठाउँको भन्दा सहुलियत दरमा नुन बिक्री गर्ने गरेको बमले जानकारी दिनुभयो । “साविक कर्णालीका जिल्लामा आयोडिनयुक्त नुनमा साल्ट ट्रेनिङ कर्पोरेशनले ५० प्रतिशत छुटका बिक्री गर्दै आएको छ”, उहाँले भन्नुभयो |

प्रतिक्रिया राख्नुहोस्

Back to top button