तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज नगर क्षेत्रको विभिन्न ५ स्थानमा सवारी पार्किङको व्यवस्था

वीरगंज । वीरगंज महानगरपालिकाको पहलमा सरोकारवाला निकायको आज सम्पन्न बैठकले वीरगंज नगर क्षेत्रको विभिन्न ५ स्थानमा सवारी पार्किङको व्यवस्था मिलाएको छ । 

वीरगंज महानगरपालिकाका फोहोर व्यवस्थापन तथा अनुगमन, वृक्षारोपण र फुटपाथ व्यवस्थापन समितिका संयोजक जय प्रकाश खेतानको अध्यक्षतामा आज सम्पन्न सरोकारवालाको बैठकले वीरगंजमा चार पाङ्गे र दुई पाङ्गे सवारी साधनको व्यवस्थापनका लागि बिर्तास्थित मालपोत कार्यालय अगाडीको क्षेत्र, आदर्शनगर स्थित हजारमल ट्रष्टको मैदान, आदर्शनगर स्थित पुरानो बस पार्क, गीता मन्दिर छेउको रामजानकी मन्दिरको सार्वजनिक जग्गा र घण्टाघर स्थित बिपी उद्यानको खाली जमिनमा पार्किङको व्यवस्था मिलाउने निर्णय गरेको छ । 

बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ध्रुव प्रसाद दहाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विशाल मल्ल, वीरगंज महानगरपालिकाका प्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरू बिच सम्पन्न बैठकले वीरगंजमा सवारी साधन पार्किङलाई व्यवस्थित गर्न ५ स्थानमा तत्काल ४ पाङ्गे र २ पाङ्गे सवारी साधन पार्किङ गर्ने निर्णय गरेको खेतानले बताउनु भयो ।  

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजको अव्यवस्थित ट्राफिक व्यवस्थापनलाई सुधार गर्न तथा नगरलाई हरियाली बनाउन वृक्षारोपणका लागि आफूलाई दिएको दायित्व पुरा गर्न आजैबाट काम शुरु गरेको खेतानले बताउनु भयो । 

यसैगरी बैठकले अब २४ सै घण्टा घण्टाघर देखि बिर्ता उद्योग वाणिज्य संघ, मकालु चौक देखि आदर्शनगर हुँदै माईस्थान सम्म, घण्टाघर चौक देखि लिङ्क रोडको दुवै तर्फ चार पाङ्ग्रे सवारी साधनहरूलाई पार्किङ निषेध गरेको छ । 

यसैगरी सोही बैठकले नगर क्षेत्रमा रहेको सार्वजनिक नालाहरूमा भएको अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।  

बैठकमा वीरगंज महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष वैजुलाल स्वर्णकार, ४ का जगत प्रसाद कानु, नगर प्रहरी इन्चार्ज हरि भुषाल, वीरगंज युवा समाजका कमल चौगाई, विक्की सर्राफ, ग्यासुद्दिन ठकुराई, लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button