तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनालाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास र समृद्धिसँग जोडिएको पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ । 

धनगढीमा आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाका लागि निर्माण कम्पनीले अनुमतिपत्र (लाइसेन्स) लिइसकेकाले आयोजनाको निर्माण प्रक्रिया चाडै अघि बढ्ने विश्वास ब्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले जलविद्युत आयोजनासँगै रानी जमरा कुलरिया तथा महाकाली सिचाई आयोजना लगायतका योजनालाई सरकारले प्राथमिकता दिएर काम अघि बढाइरहेको उल्लेख गर्दै ती आयोजना निर्माणपछि सुदूरपश्चिम प्रदेशमा समृद्धि आउने बताउनुभयो । 

प्राकृतिक सम्भावनाको पहिचान गरी सुदूरपश्चिम प्रदेशमा कृषि, पर्यटन, उद्योग, व्यापार मार्फत आर्थिक समृद्धि ल्याउन सकिने बताउनु हुँदै उहाँले विकासका लागि प्रदेश सरकार र स्थानीय तहका बीच समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले कोरोनाले थलिएको उद्योग व्यवसाय क्षेत्रको पुनरुत्थानका लागि सरकारले लागिपरेको उल्लेख गर्दै यस क्षेत्रलाई  आर्थिक हवका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । सुदूरपश्चिमको कृषि, पर्यटन, आर्थिक, सामाजिक विकासका लागि महोत्सवले थप टेवा पुग्ने बताउनु हुँदै उहाँले सङ्घले अघि सारेका मागप्रति सरकार गम्भीर रहेको बताउनु भयो ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले महोत्सव आयोजनाले यस प्रदेशको समग्र विकासमा थप टेवा पुग्ने बताउनुभयो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्योगी व्यवसायीले उठाएका माग सम्बोधन गर्नका लागी सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषको दायरा बढाउँदै रोजगारीको सृजना गर्न, वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तिलाई पुनः रोजगारीमा जोड्नेतर्फ सरकार लागि परेको बताउनु भयो ।

यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको विकास प्राथमिकता दिएर सरकार अघि बढिरहेको बताउनु भयो ।

उद्घाटन समारोहमा संघका तर्फबाट प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाएर भव्य स्वागत गरिएको थियो । यस्तै स्थानीय भेषभुषा, लोकसंस्कृति झल्कने विभिन्न झाकी प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कराते तर्फ आनन्द बिक र फिनसिङमा डोलेन्द्र शाही तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्री देउवा समक्ष कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले  विभिन्न माग समेटिएको १५ बुँदे ज्ञापनपत्र बुझाउनु थियो ।

आज मङ्सिर २२ गते देखि शुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । उद्योग, व्यापार, कृषि, पर्यटन, कला संस्कृतिको संवर्द्धन गर्ने उद्देश्य सहित कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ साल देखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । १६ औ संस्करण रहेको यसपालिको महोत्सवमा स्थानीय खानपान, कृषि उपज, बहुराष्ट्रिय कम्पनीका गरि करिब ४ स्टल रहेका छन् । महोत्सवमा प्रदर्शनी, थारु गाउँ, रमाइलो मेला, कलाकारको प्रस्तुती लगायत मुख्य आकर्षण रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button