तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

चितवन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो । संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उहाँको भनाइ थियो ।  

देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उहाँले बताउनुभयो । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताउनुभयो । “एमाले र कांग्रेस सच्चिनुपर्छ”, उहाँले भन्नुभयो ।  

उहाँले भन्नुभयो, “जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो ।” तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।  

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button