तपाईँ सुन्दै हुनुहुन्छः

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

विराटनगर । तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो ।

विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौँतारिनुपर्ने अवस्था छ । प्रादेशिक कार्यालयमा हाल युरिया तीन हजार सात सय ७२ दशमलव छ सय ५० मेट्रिक टन र डिएपी पाँच हजार नौ सय ४१ दशमलव छ सय ५० मेट्रिक टन मौज्दात छ ।

प्रादेशिक कार्यालयमा उपलब्ध मल किसानको मागभन्दा आधा भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका कायममुकायम प्रबन्धक नरेशकुमार सापकोटाले बताउनुभयो । केन्द्रीय कार्यालयले आयात गरेको मलको २१ दशमलव पाँच प्रतिशत मात्र प्रादेशिक कार्यालय रासायनिक मल उपलब्ध गराउँदै आएको छ । प्रदेश नं १ मा ४० हजार मेट्रिक टन रासायनिक मलको बर्सेनि माग रहेको बताइएको छ । मल आपूर्ति तथा व्यवस्थापन समितिले निर्धारण गरेको कोटाअनुसार कार्यालयले स्थानीय तहको सिफारिसमा सहकारी संस्थामार्फत बिक्री गरिँदै आएको छ ।

धान रोपाइँका बेला मल नपाएका किसानले हिउँदे तरकारी लगायत तोरी र गहुँमा राख्न समेत पाएका छैनन् । स्थानीय तहको सिफारिसअनुसार सहकारीमार्फत पाउनुपर्ने मल पनि साना किसान पाउन सकेका छैन ।

मल किन्न कृषि सामग्री कम्पनी लिमिटेडमा आएका किसानहरू खाली हात फर्किरहेका छन् । भारतको सीमावर्ती क्षेत्रमा समेत मल पाइएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button