तपाईँ सुन्दै हुनुहुन्छः

‘मातृभाषाहरूको संरक्षण र विकासका लागि सहकार्य आवश्यक’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र विकासका लागि सरकारका साथै सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

फाइल तस्बिर

नेपाल भाषा मंका खल यलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले मातृभाषाको संरक्षण र विकासका लागि सम्बन्धित भाषा बोल्ने समुदाय जागरूक हुनु आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली भाषा, साहित्य र संस्कृतिको खोज अनुसन्धानमा अतुलनीय योगदान पुर्‍याएका कारण शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीले नेपाली नागरिकको तहबाट उच्च सम्मान प्राप्त गर्नुभएको बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वर्गीय सत्यमोहन जोशीका अप्रकाशित कृतिहरूको संरक्षण तथा प्रकाशनका लागि ललितपुर महानगरपालिकाले पहल गर्ने बताउनुभयो ।

नेपाल भाषा मंका खल यलका अध्यक्ष हिराकाजी महर्जन, पुरस्कार छनौट समितिका संयोजक पुष्पराज राजकर्णिकार लगायतले स्वर्गीय सत्यमोहन जोशीको जीवनबाट सबैले आ–आफ्नो मौलिक संस्कृति र मातृभाषाको संरक्षणका लागि प्रेरणा लिन सक्नुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेवारी भाषा र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याए बापत फणिन्द्ररत्न बज्राचार्यलाई सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button