तपाईँ सुन्दै हुनुहुन्छः

११ बजेसम्म शिक्षक नआएपछि वडाध्यक्षले नै पढाए

वीरगञ्ज । वीरगञ्ज सहित पर्साका सामुदायिक विद्यालयहरूमा शिक्षकहरूको चरम लापरवाही देखिएको छ ।

पर्साको सदरमुकाम वीरगञ्जका अधिकांश सामुदायिक विद्यालयहरूमा शिक्षकहरू समयमा नआउँदा पठनपाठन अवरुद्ध हुने गरेको छ ।

समयमा विद्यालय अनुपस्थित वीरगञ्ज महानगरपालिका २० अपौनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापकसहित ३ जना शिक्षकलाई महानगरपालिकाको शिक्षा शाखाले आज २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

विद्यालयमा आज बिहान अनुगमनका लागि वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह पराग १० बजे पुगेको भए पनि शिक्षकहरू ११ बजेसम्म नआएपछि वडाध्यक्ष परागले पियनलाई घण्टी बजाउन लगाएर १ घण्टा आफैले बालबालिकालाई पढाएको समाचार सार्वजनिक भएसँगै महानगरपालिकाको शिक्षा समितिले विद्यालयका प्रधानाध्यापकसहित ३ जना शिक्षकलाई २० घण्टे स्पष्टीकरण सोधेको हो ।

विद्यालयको वास्तविक अवस्था बुझ्ने उद्देश्यले वडा अध्यक्ष पराग १० बजे छड्के अनुगमनमा पुगेको र उहाँ पुग्दा विद्यालयमा कक्षा १ देखि ५ सम्म पढ्ने १ सय ६० जना विद्यार्थी रहेको र शिक्षक कसैलाई नभेटेपछि पियनलाई साँढे १० बजे घण्टी बजाउन लगाएर आफैँले पढाएको वडाध्यक्ष परागले बताउनुभयो ।

५ वटै कक्षामा आएका विद्यार्थीको हाजिर गरेको र ११ बजेसम्म नआउने शिक्षकको हाजिर काटिदिएको बताउँदै वडाध्यक्ष परागले ढिलो आउने शिक्षकलाई घर जान चेतावनी दिनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले ससुरालीमा हनुमान आराधना भएकोले आफू बिदामा बसेको बताएका छन् भने ११ बजे विद्यालय पुगेका सहायक प्रधानाध्यापक जय किशोर पाण्डेले आफू आउन ढिलो भएको स्विकार्दै अन्य शिक्षकहरू किन आएनन् सोको जानकारी नभएको बताएका थिए ।

सो विद्यालयमा ५ जना शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button