तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (पुरा विवरण)

सुकुम्बासीका समस्याका सम्बन्धमा सरकार सचेत छ : मन्त्री कार्की

काठमाडौँ । सरकारले मङ्सिर ४ गते सम्पन्न निर्वाचनलाई सफल बनाउन आ आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा हार्दिक धन्यवाद दिएको छ । 

मङ्सिर २० गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारमाध्यम, नागरिक समाज लगायत निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने सवैमा सरकारले धन्यवाद दिने निर्णय गरेको बताउनुभयो ।

मन्त्रीपरिषद् बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गर्नुसँगै विभिन्न देशबाट प्राप्त हुने अनुदान सहायताहरू स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५७ करोड रुपैयाँ बरावरको अनुदान सहायता स्वीकार गर्ने, र सोही आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५४ करोड बरावरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । 

यस्तै मन्त्रीपरिषद् बैठकले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा गोर्खाका जितेन्द्र धिताललाई नियुक्त गर्नुसँगै पोलियो भाइरल खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गरेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो । 

पत्रकार सम्मेलनमा सुकुम्बासीका सम्बन्धमा काठमाडौँमा देखिएको समस्याबारे सञ्चारकर्मीको एक जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो समस्याका सम्बन्धमा सरकार सचेत रहेको बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button