तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवर्द्धनका लागि खप्तड नैनीमा पत्रकार महासङ्घको साधारणसभा

अछाम । पत्रकार महासङ्घ अछामले जिल्लाको पर्यटकीय क्षेत्र खप्तड नैनीमा साधारणसभा गर्ने भएको छ ।

यही मङ्सिर २४ गते पर्यटकीय क्षेत्र खप्तड नैनीमा शाखाको ८ औँ  साधारण सभा गर्ने निर्णय गरेको हो । जिल्लाको पर्यटकीय क्षेत्र खप्तड नैनीको प्रचार प्रसारमा समेत टेवा पुग्ने हेतुले ८ औँ साधारण सभा त्यहाँ गर्न लागिएको जिल्ला अध्यक्ष खत्रीले बताउनुभयो ।

केन्द्र र प्रदेश तथा जिल्लाका पत्रकार एवंम सञ्चारकर्मीहरूको उपस्थितिले प्रचार प्रसारमा टेवा पुग्ने भएकाले नैनीमा साधारण सभा गर्न लागिएको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा महासङ्घ प्रदेशका अध्यक्ष, छिमेकी जिल्लाका अध्यक्ष, अछाम स्थित स्थानीय पालिका, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुखहरूलाई साधारण सभामा आमन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले पत्रकार महासङ्घका साधारण सदस्यहरुले आफ्नो सदस्यता मङ्सिर महिना भित्र नवीकरण गरिसक्नु पर्ने समेत निर्णय गरेको छ । २ वर्षको बाँकी रहेको सदस्यता शुल्क सहित आफ्नो सदस्यता नवीकरण गर्न महासङ्घ अछामले आग्रह गरेको छ ।

यस्तै बैठकले छिमेकी जिल्ला सुर्खेतमा आउँदो पौष ७ र ८ गते हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभा तथा कैलालीमा हुने सुदूरपश्चिम प्रदेशको साधारण सभा सफल पार्न आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

नैनी क्षेत्रको महत्त्व 
नैनी क्षेत्र अछामको साँफेबगर१२ खप्तडमा पर्छ । खप्तड राष्ट्रिय निकुञ्जको काखमै रहेको यो क्षेत्र खप्तड प्रवेशद्वार समेत हो । साँफेबगरबाट करिब ३३ किलोमिटर दुरीमा रहेको नैनीमा खप्तडकै झल्को दिने गरी विभिन्न क्षेत्र समेत बनाइएका छन् । 

खप्तड बाबाको मूर्ति, शिव पार्वतीका मूर्ति, मन्दिर, ढुङ्गामै कुदेर बनाइएका मूर्ति तथा नाग, खप्तड ताल लगायतका आकर्षक स्थलको निर्माणले खप्तडको झल्को दिने गरेको छ । 

बान्नीगढी क्षेत्रको प्रचार प्रसारका महासङ्घको बैठक बान्नीगढीमा
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अछामले बान्नीगढी क्षेत्रको प्रचार प्रसारका लागि यस पटकको बैठक बान्नीगढीमा सम्पन्न गरेको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका सँगको समन्वयमा बैठक बान्नीगढी मन्दिर क्षेत्रमा गरिएको जिल्ला अध्यक्ष खत्रीले बताउनुभयो । महासङ्घ जिल्ला शाखाका पदाधिकारी, प्रदेश सदस्य तपेन्द्र कुँवर, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारी लगायतको बैठकमा सहभागिता रहेको सचिव पूर्ण बहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button