तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

काठमाडौँ ।  उपत्यकामा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ ।

‘वाटर भेन्डिङ’ मेसिनबाट रु दुईमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो । 

वाटर एटिएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका  काठमाडौँमा १२, ललितपुरमा सात र भक्तपुरमा एक गरी जम्मा २० एटिएम सञ्चालनमा रहेका छन् ।

काठमाडौँमा टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटिएम सञ्चालनमा छन् । 

त्यसैगरी ललितपुरमा नेपाल ईञ्जिनियर्स एसोसिएसन, बङ्गलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुलचोक इञ्जिनीयरिङ क्याम्पस र मेन्टल अस्पतालमा एटिएम सञ्चालनमा छन् । भक्तपुरमा हाल भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनीयर तेजविनोद पाण्डेले जानकारी दिनुभयो ।

वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ । मानिसको भिडभाड हुने स्थान, पार्क तथा सार्वजनिक स्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यस कारण आवतजावत गर्ने सर्वसाधारणका लागि पानी पिउन सहज भएको छ ।

काठमाडौँको शङ्खधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटिएमबाट दैनिकजसो पानी पिउँदै आउनुभएका माइक्रो चालक लज श्रेष्ठले वाटर एटिमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै प्यास लाग्दा पनि पहिला २५÷३० रुपैयाँ तिरेर बोतलको पानी पिउने गरेको थिएँ, हाल यहाँ नजिकै वाटर एटिएम राखेकाले सहज भएको छ ।” 

त्यसैगरी काठमाडौँको चक्रपथ नजिकै रहेको शङ्ख पार्क परिसरमा रहेको वाटर एटिएमबाट पानी पिउने सर्वसाधारण भवानी कार्कीले नेपालमा नयाँ प्रविधि सञ्चालनमा आउँदा राम्रो लागेको तर कुनै बेला मेसिनबाट गिलास नआउने र कहिले पैसा साट्दा सिक्का नआउने समस्या रहेको बताउनुभयो । साट्न राखेको पैसासमेत फिर्ता नआएको हुँदा समय समयमा मेसिन जाँच गर्नुपर्ने उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button