तपाईँ सुन्दै हुनुहुन्छः

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी

झापा। लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् ।

एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।

बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिराको उच्च जोखिममा सो नहर सधैँ रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।

गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिराले नहरको मुहानलगायत विभिन्न ठाउँ भत्किएको थियो । सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ ।

नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा भोजराज घिमिरेको पहलमा विसं २०७२ मा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको अध्यक्ष तिवारीले बताउनुभयो ।

बाहुनडाँगीका किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापरलगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन् । पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ ।

उहाँले सो स्थानमा नियमित सिँचाइको विकल्पका रूपमा मेचीनगर– १ को निन्दा सिरानबाट करिब एक हजार तीन सय मिटरको सुरुङ निर्माण गरी सिद्धिनहरसम्म पानी पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

विगतमा पटक–पटक यस विषयमा छलफल भए पनि राजनीतिक खिचातानीका कारण सो कार्य सफल हुन नसकेको उहाँको आरोप छ । उहाँले निन्दा खोलाको पानी सुरुङमार्फत नहरमा पु¥याउने हो भने त्यसैबाट पिउने पानी, बिजुलीसमेत निकाल्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button