तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक पत्रकारिता सम्बन्धी दुई पत्रकारिता पुरस्कार स्थापना

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा आर्थिक पत्रकारितासम्बन्धी दुई पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सो पुरस्कार प्रदान गर्ने भएको हो ।

२ आर्थिक पत्रकारलाई पुरस्कृत गर्नेसम्बन्धी दुई पक्षीय समझदारीपत्रमा मङ्गलवार हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव तथा स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री लिमा अधिकारीले हस्ताक्षर गर्नुभयो ।

फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन गर्ने हेतुले पुरस्कार प्रदान गर्ने भएको हो ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी –नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मङ्सिर २८ गते नाफिजको छैटौँ महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई आर्थिक पत्रकारहरूलाई प्रदान गरिने छ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिने छ ।

फाउन्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गर्ने सहमति पनि भएको छ ।

तीनपटक नेपालको अर्थमन्त्री हुनुभएका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा २०७६ फाउन्डेसनको स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button