तपाईँ सुन्दै हुनुहुन्छः

गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार खत्रीलाई

सर्लाही । प्रथम स्वर्गीय गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार जनार्दन खत्रीलाई प्रदान गरिएको छ ।

आज लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा खत्रीलाई सम्मान–पत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशिको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

महासङ्घकी केन्द्रीय सदस्य रिंकुकुमारी मिश्र, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायतका अतिथिले सम्मान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले सर्लाहीमा क्रियाशील रूपले पत्रकारिता गर्दै सामाजिक सद्भाव एवं भाइचारा कायम गराउन र समृद्धिको यात्रामा डोहोर्याउन योगदान गर्नुभएकाले पत्रकार खत्रीलाई सम्मान गरिएको बताउनुभयो । सम्मानित हुने पत्रकार खत्री गोरखापत्रका सर्लाही समाचारदाता हुनुहुन्छ ।

पूर्व पत्रकार तथा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले २०७६ सालमा ५१ हजार रुपैयाँको सहयोग गरी यो पत्रकारिता कोष स्थापना गर्नुभएको थियो ।

साधारण सभामा प्रेस काउन्सिल मधेश प्रदेशका अध्यक्ष स्व. शिवहरि भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । भट्टराई गएको शनिबार नै आयोजना गरिएको पत्रकार महासङ्घ सर्लाहीको साधारण सभामा आउँदा बास बसेको पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button