तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङमा ३० औँ त्रिवेणी कप सञ्चालन हुँदै 

लमजुङ  । लमजुङमा ३० औ त्रिवेणी कप सञ्चालन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पुस १२ गतेदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने आयोजक त्रिवेणी युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

जिल्लामा फुटबल खेलको विकास र प्रवद्र्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको त्रिवेणी क्लबले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने, खेल पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनका लागि त्रिवेणी कप सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विनोद गुरुङले बताउनु भयो ।

जिल्लाको सदरमुकाम वेसिशहर स्थित सहजी खेलमैदानमा सञ्चालन हुने ३० औँ त्रिवेणी कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाएको छ । लमजुङ, मनाङ, गोरखा, तनहुँ, चितवन, कास्की, नवलपुर, काठमाडौँ लगायतका जिल्लाहरूबाट फुटबल खेल्नलाई खेलाडीहरू वर्षेनी आउने गरेको क्लबले जनाएको छ ।

त्रिवेणी कपको विजेतालाई नगद पाँच लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई नगद तीन लाख रुपैयाँ, रजत पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।  ।

त्यस्तै, सेमिफाइनलका उपविजेता दुवै टिमलाई ५०/५० हजार रुपैयाँ पुरस्कार वितरण गर्ने आयोजक क्लबले जनाएको छ । क्लबका अनुसार त्रिवेणी कप फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५÷१५ हजार रुपैयाँ स्वर्ण पदक र प्रमाणपत्र वितरण गर्ने भएको छ । ३० औँ त्रिवेणी कप फुटबल प्रतियोगिता सञ्चालन गर्नका लागि ४७ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजक त्रिवेणी क्लबले जानकारी दिएको छ ।

२०४९ सालमा क्लब गठन गरी खेतका गराहरू भाडामा लिई १ वटा खसी र ३ हजार पुरस्कार राशि राखी सुरु गरिएको त्रिवेणी कप अहिले जिल्लाकै सबैभन्दा बढी पुरस्कार राशिको फुटबल प्रतियोगिताको रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button