तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेन बहुप्राविधिक शिक्षालयका नियमित कक्षा सञ्चालन

अछाम । मङ्गलसेन बहुप्राविधिक शिक्षालयका नियमित कक्षा सञ्चालनमा आएका छन् । 

प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को आङ्गिक शिक्षालयको रुपमा रहेको शिक्षालयले सामान्य चिकित्सा (एचएच)का कक्षा नियमित सञ्चालन गरेको शिक्षालय प्रमुख तिर्थ आचार्यले बताउनु भयो । 

यसै आर्थिक वर्षदेखि ३ वर्षे डिप्लोमा अन्तर्गत एचए कार्यक्रमका कक्षा शुरु गरिएका हुन् । शिक्षालयले सोमबारबाट नियमित कक्षाहरू सञ्चालन गरेको हो । 

अछाम जिल्लामा पहिलोपटक एचए कक्षा सञ्चालन भएका र सीटीईभीटीको आङ्गिक शिक्षालय रहेकाले सुलभ रुपमा सरकारी शिक्षालयमा अध्ययन गर्न पाएको शिक्षार्थीको भनाई छ । 

आफ्नै जिल्लामा सुलभ रुपमा एचए अध्ययन गर्न पाउँदा खुसी लागेको एक जना विद्यार्थी कृष्ण जैसीले बताउनु भयो । 

यो बर्ष शिक्षालयमा ४० जना अध्ययनरत रहेका छन् । कोटा अनुसार विद्यार्थी रहेका र उनीहरूका कक्षा नियमित सञ्चालन गरिएको शिक्षालय प्रमुख आचार्यको भनाई छ । साथ विद्यार्थीहरूलाई अभिमुखीकरण समेत गरिएको छ । 

शिक्षालय सञ्चालनका लागि पहिलो वर्षको सम्पूर्ण खर्च जिल्लाको मङ्गलसेन नगरपालिकाले व्यहोर्ने भएको छ । मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले पहिलो वर्षको सम्पूर्ण खर्च मङ्गलसेन नगरपालिकाले व्यहोर्ने जानकारी गराउँदै क्याम्पसलाई व्यवस्थित बनाउनका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्ध रहेको बताउनुभयो । क्याम्पसको आकर्षण बढाउने जिम्मेवारी विद्यार्थीहरूको रहेको बोहराको भनाई छ । अछाम जस्तो ठाउँमा पढाई गर्न पाउनु खुसीको कुरा भएको भन्दै उहाँले विद्यार्थीले जागरूकताका साथ नयाँ झल्को दिन आग्रह गर्नुभयो । 

यसबाट जिल्लामा स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा ठुलो सहयोग पुग्ने भन्दै आफ्नो तर्फबाट पनि सहयोग रहने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा. सोनाली बास्कोटाले बताउनु भयो । 

हाललाई शिक्षालयको सुरुवात अछाम बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारबाट गरिएको शिक्षालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button