तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा मुसहर समुदायमा परिवर्तन, घुम्टोभित्र बस्ने महिलाहरू सडकमा उत्रे

सर्लाही । सर्लाहीमा मुसहर समुदायका महिलाहरूमा आमूल परिवर्तन भएको छ । कुनै बेला घुम्टोभित्र लुकेर बस्ने मुसहर महिलाहरू अहिले आफ्नो अधिकारका लागि सडकमा उत्रने गरेको छ ।

यसैक्रममा सर्लाहीको बसबरीया गाउँपालिकामा मुसहर महिला तथा विद्यार्थीहरूले महिला हिंसा बन्द गरौँ, बाल विवाह बन्द गरौँ, जाँड रक्सी बन्द गरौँ, छुवाछुतको भेद भाव बन्द गरौँ भन्ने प्लेकार्ड सहित नारा लगाउँदै हिँडेका थिए ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान: २०७९ अन्तरगत “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने नारा सहित मुसहर महिलाहरू प्लेकार्ड सहित सडकमा उत्रेका थिए ।  मुसहर महिला सशक्तिकरण मञ्च बसबरियाको आयोजनामा मुसहर महिलाहरूले र्यालि निकालेका थिए । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम नगर स्तरीय मुसहर महिला सशक्तिकरण मञ्च बसबरियाकी अध्यक्ष सिता देवी माझीको अध्यक्षता तथा बसबरिया गाउँपालिका प्रमुख राम सिहासन रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अनडेफ तथा साप नेपालको सहयोगमा मुसहर महिला सशक्तिकरण मञ्च बसबरीयाको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरेको साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल)का कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बसवरिया गाउँपालिकाका प्रमुख राम सिहासन रायले मुसहर महिलाहरूले  बाल विवाह बन्द गरौँ, जाँड रक्सी बन्द गरौँ, छुवाछुतको भेद भाव बन्द गरौँ भन्ने प्लेकार्ड सहित नारा जुलुस गर्दै सडकमा आएकोमा खुसी प्रकट गर्दै व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । यस विषयमा गाउँपालिकाले समेत आगामी दिनका कार्यक्रम गर्ने उहाँले भन्नुभयो ।

मुसहर महिला सशक्तिकरण मञ्च बसबरीयाकी अध्यक्ष सिता देवी माझीले अझै पनि दलितहरू माथि विभेद हुने गरेको बताउनुभयो । स्थानीय सरकारले समेत मुसहरहरूको माग नसुन्ने गरेको उहाँले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button