तपाईँ सुन्दै हुनुहुन्छः

शीत भण्डार निर्माण भएपछि किसान खुसी

अर्घाखाँची । पाणिनि गाउँपालिका–२ पोखराथोकमा शीत भण्डार निर्माण भएपछि किसानले शीत भण्डारमा सुन्तला भण्डार गरेका छन् । मौसमी सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बेमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएका छन् । 

अर्घाखाँचीको पाणिनि गाउँपालिका—१ सिम्लेका दधिराम गौतमले बारीमा लगाएको सुन्तलाबाट गत वर्ष ९ लाख रुपैयाँ आम्दानी गर्नुभयो, यस वर्ष सुन्तला बढी फलेकाले १५ लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपैयाँदेखि ६५ रुपैयाँमा बुटवल, तानसेन, सन्धिखर्क र भैरहवाको बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

पाणिनि गाउँपालिकाको सहयोगमा पोखराथोकमा शीत भण्डार निर्माण भएपछि मौसमी रुपमा सुन्तला बिक्री गर्नुपर्ने बाध्यता हटेको छ ।  उत्पादित सुन्तला शीत भण्डारमा भण्डारण गरी बेमौसमी रुपमा बजारमा पठाउँदा धेरै फाइदा हुने हुँदा किसान निकै खुसि भएका छन् । 

अर्घाखाँचीको पाणिनि गाउँपालिका—१ सिम्ले गाउँमा मात्रै पाँच करोडको सुन्तला फलेको छ । पाणिनि गाउँपालिका—१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसानले अन्न उब्जने बारीमा व्यावसायिक सुन्तला खेती गरेका छन् । उनीहरू सबैले सुन्तला बेचेर जीवनस्तरमा सुधार गरेका हुन्

किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तलाबाट २ सय ४० क्विन्टलभन्दा बढी फलेको बताउनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने उहाँले बताउनुभयो । यहाँका किसानले सुन्तला बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दछन् ।

अर्घाखाँची जिल्लाको पाणिनी र मालारानी गाउँपालिकालाई सुन्तला पकेट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button