तपाईँ सुन्दै हुनुहुन्छः

स्वरसम्राट नारायण गोपालको ३२औँ स्मृति दिवस मनाइँदै 

काठमाडौँ । स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । 

नारायण गोपालको २०४७ मङ्सिर १९ गते आजकै दिन स्वर्गारोहण भएको थियो । 

नारायण गोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो । 

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका उहाँले थुप्रै कालजयी गीत गाउनुभएको छ ।  

उहाँका  एउटा मान्छेको मायाले कति, यो मुटुलाई कसरी सम्झाई बुझाउ, झरेको पात झैँ भयो जिन्दगी, केही मीठो बात गर, तिमीलाई भुल्दा, साउनको झरी बनी तिमी आउन जस्ता गीतहरू चर्चित छन् ।  

स्वर्गीय नारायण गोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुनुहुन्थ्यो । उहाँलाई नेपालको स्वरसम्राटको उपाधिले सम्मान गरिएको थियो । 

नेपाली भाषाका पहिलो पुस्ताका गायकका रुपमा परिचित नारायण गोपालले गायनलाई पेसाको रूपमा अङ्गाल्नुभएको थियो । नारायण गोपालले नेपाली कालजयी १ सय ३६ वटा गीतहरू गाउनुभएको छ । 

सबै नेपालीको मनमनमा बस्न सफल गायक नारायण गोपालले नेपाली चलचित्र तथा नाटकहरूमा समेत गीत गाउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button