तपाईँ सुन्दै हुनुहुन्छः

लेखनाथ महोत्सव पुसको पहिलो साता

पोखरा । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य सङ्घले पुसको पहिलो साता देखि १८ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।

पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्य ले राखिएको पत्रकार सम्मेलनमा सङ्घले पुसको ७ गते देखि १८ गते सम्म पोखरा २७ को तालचोकमा १८ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको बताए ।

लेखनाथमा पर्यटकीय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठी गर्ने आत्रेयले जानकारी दिए । पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै आत्रेयले घरेलु उत्पादनका सामग्रीहरूको प्रदर्शनी गरी उद्यमी व्यवसायीहरूको प्रवद्र्धन गर्ने बताए ।साथै उनले लेखनाथ महोत्सव मनोरञ्जनात्मक पक्षबाट मात्र नभै उपलब्धिमूलक रुपमा आयोजना गरिएको स्पष्ट पारे ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका थिए ।

साथै प्रथम उपाध्यक्ष ओझाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य बस्तु तथा सेवाहरूको प्रवद्र्धन गर्दै कोभिड १९ तथा रुस युक्रेन युद्ध जस्ता कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनु नै १८ औँ संस्करणको लेखनाथ महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

महोत्सवमा १० करोड बरावरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।महोत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भई १० लाख बचत हुने बताइएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र सङ्घको भवन स्तर उन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थलहरूको प्रवर्द्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।

महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रर्वद्वन, आवश्यक ज्ञान,सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरूको प्रर्वद्वन, जातीय, भेषभुषा,कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं बाह्य पर्यटन आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहने छन् । महोत्सवमा ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आकर्षणका रुपमा रहने छन् ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, पोखरा महानगरपालिका वडा नं.२६ का वडाअध्यक्ष नरेन्द्र थापा, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले लेखनाथ महोत्सवले लेखनाथ क्षेत्रको पहिचान बोकेको बताउँदै आगामी दिनमा महोत्सवलाई समय सापेक्ष अनुसार परिष्कृत गर्दै महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाव राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्र सुवेदी (राजु) ले गरेका थिए ।

महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्सोरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्क सह प्रायोजकको रुपमा रहेको छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button