तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व मन्त्री बास्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय, बम नभएको पुष्टि

भक्तपुर । नेकपा एमालेका नेता ,पूर्व मन्त्री एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

मध्यपुर थिमि १ लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको थियो । 

बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल त्यहाँ पुगेको थियो । 

शङ्कास्पद वस्तु निष्क्रिय नबनाउँदासम्म त्यस क्षेत्रलाई सुरक्षाकर्मीले घेरेर राखिएको थियो ।  यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको थियो ।

सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ । शङ्कास्पद वस्तु (प्रेसर कूकर) मा विस्फोटक पदार्थ नभेटिएको प्रहरीको भनाई छ ।

सूचना पाएलगत्तै प्रहरीको टोली सो स्थानमा पुगेको थियो भने शङ्कास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो ।

बिहान सबेरै छिमेकीले शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सेनाको बम डिस्पोजल टोली पुगेर अनुसन्धान गर्दा शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । 

यसअघि  २०७६ फागुनमा  सोही घरमा बम विस्फोट गराउँदा सामान्य क्षति भएको थियो । पछि प्रहरीले विस्फोटमा संलग्न रहेको भन्दै नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको थियो ।

काभ्रेबाट निर्वाचित बास्कोटा भने काभ्रेस्थित घरमै रहेको  रहेको जनाइएको छ । शङ्कास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button