तपाईँ सुन्दै हुनुहुन्छः

घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

सल्यान । सल्यानको शारदा नगरपालिकाले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । 

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो । 

भौगोलिक विकटता, ज्येष्ठ नागरिकहरू आफै स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिनुभयो । 

घरदैलो खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकहरूको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाई लगायतका उपचार गर्ने उहाँको भनाई छ । 

पालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधी वितरण  समेत गर्दै आइरहेको बबालले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले वर्षमा चार पटक तीन महिनाको फरकमा सेवा दिने व्यवस्था मिलाएका छौँ, बिस्तारै यसलाई बढाउँदै महिनामा एक पटक निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पहल गर्ने छौँ ।”

गम्भीर समस्या भएको ज्येष्ठ नागरिकलाई थप उपचारको लागि सल्यान जिल्ला अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो  । 

नगरपालिकाले जिल्ला अस्पतालमा पुर्‍याइएका बिरामीको उपचार खर्च समेत व्यहोरिरहेको छ ।

पालिका भरिका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको शारदा नगरपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र हमालले बताउनुभयो । उहाँका अनुसार पालिकाका १५ वडामा झन्डै दुई हजार ७० वर्ष माथिका ज्येष्ठ नागरिक छन् । 

ज्येष्ठ नागरिकलाई विभिन्न परामर्श दिएर उनीहरूको खानपिन र आनीबानीमा परिवर्तन गराएको स्थानीय स्वास्थ्यकर्मी सरिता शर्माले बताउनुभयो । 

उपचार गरेका धेरैजसो बिरामीमा रक्तचाप, मधुमेह, दम, खोकीलगायत दीर्घ रोगको समस्या बढी देखिएकाले खानपानमा विशेष ध्यान दिन आग्रह गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button