तपाईँ सुन्दै हुनुहुन्छः

नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडौं । अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हरायो । 

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गर्नुभयो । अमेरिका हाजी राइटले सान्त्वना गोल फर्काउनुभयो । नेदरल्यान्ड्सले पहिलो हाफमै दुई गोल गरेको थियो । बल पोसेसनमा अब्बल देखिएको अमेरिकाले गोल गर्न भने सकेन । 

डिपाएले १०औं मिनेटमा डेन्जेल डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाउनुभयो ।

७६औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । उहाँले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्नुभएको थियो । त्यसपछि ८१औं मिनेटमा डम्फ्रिजले डेली ब्लिन्डको पासमा उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम आठमा प्रवेश गराउनुभयो ।

समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल आजै राति हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button