तपाईँ सुन्दै हुनुहुन्छः

सिंजा क्षेत्रका ३७० बाढी पीडितले पाए राहत  

जुम्ला । गत असोज अन्तिम साता भएको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडितहरूलाई राहत वितरण गरिएको छ । 

बाढी पहिरोले नराम्ररी प्रभावित भएको सिंजा क्षेत्रका तीन पालिकाका बाढी पीडितलाई राहत वितरण गरिएको हो । 

सिंजा क्षेत्रमा पर्ने हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका ३ सय ७० बाढी पीडितलाई तत्कालीन आश्रय हुने राहत उपलब्ध गराइएको छ । जस अन्तर्गत कनकासुन्दरीका १५० हिमा गाउँपालिका १२० र सिंजा गाउँपालिका १ सय जम्मा ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको पेश नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताउनुभयो । 

उहाँका अनुसार प्लान इन्टरनेशनल नेपालको सहयोग र पेश नेपालको समन्वयमा बाढी पीडितलाई त्रिपाल, कम्बल, झुल, पीफर्म, लेम्प(बिजुली), डोरीसहित राहत सामग्री वितरण गरिएको छ । 

गत असोज तेस्रो साता आएको अविरल वर्षाले जुम्लाको सिंजा क्षेत्रमा ठुलो जनधनको क्षति गरेको थियो । घर भत्किएर कनकासुन्दरीका एकै परिवारका ८ जनाको समेत मृत्यु भएको थियो ।  

सरकारी तथ्याङ्क अनुसार जुम्लाका ६ सय ३० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् । भने करोडौँको अन्नबाली पूर्ण रुपमा नष्ट भएको छ । 

सरकारले जुम्ला सहित साविक कर्णालीलाई सङ्कटग्रस्त क्षेत्र समेत घोषणा गरेको थियो । तर संकट ग्रस्त क्षेत्र घोषणा गरेपनि राहत उद्धार तथा पुनर्स्थापनाका क्षेत्रमा संघ र प्रदेश सरकारले उल्लेखीय काम गर्न नसकेको बाढी पीडितहरूको गुनासो छ ।  

बाढी पहिरोका कारण धेरै क्षति व्यहोरेका सिंजा क्षेत्रका नागरिकलाई तत्कालीन राहतले बढ्दो चिसो छिचोल्न सहज हुने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “धेरैका आफ्ना घर छैनन् । आफन्तको सरणमा छन् । सङ्कटग्रस्त क्षेत्र घोषणापछि पीडितले सरकारबाट कुनै राहत पाएनन् । बाढी पीडितहरूको दिगो पुनर्स्थापनाका लागि पहल भइरहेको छ । गैरसरकारी संस्थाले दिएको राहत सामग्रीले भने तत्काल सहज हुने आशा छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button