तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

वालिङ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लैजानुभएको छ । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि हुनुहुन्छ । 

हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याउनुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मतगणना सकिएको छ । अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लैजानुभएको छ । 

चापाकोट नगरपालिका–४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि हुनुहुन्छ । भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button