तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकप: आज ४ खेल हुँदै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणका ४ खेलहरू हुँदै छन् ।

विश्वकपमा आज समूह ‘एच’ र समूह ‘जी’ को दुई दुई खेलहरू हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबिच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

पोर्चुगल ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । घाना ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया १ अङ्कसहित तेस्रो र १ अङ्क जोडेको उरुग्वे पुछारमा रहेको छ ।

यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबिच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुवै खेल राति १२ः४५ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

स्विट्जरल्यान्ड ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अङ्क जोडेर तेस्रो र सर्बिया १ अङ्क जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button