तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा एचआइभी एड्सका कारण ३४ जनाको मृत्यु  

अर्घाखाँची । अर्घाखाँचीमा हालसम्म एचआइभी एड्सका कारण ३४ जनाको मृत्यु भएको छ । 

जिल्लामा एचआइभी एड्स सम्बन्धी काम गर्ने संस्था सन्देश सहयोग समूह अर्घाखाँचीको तथ्याङ्कअनुसार हालसम्म एचआइभी एड्सका कारण ३४ जनाको मृत्यु भएको सन्देश सहयोग समूहकी पार्वती थापा क्षेत्रीले जानकारी दिनुभयो ।

अर्घाखाँचीमा हालसम्म १ सय ६३ जनामा एचआइभी संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

कुल संक्रमित मध्ये ७ जना बालबालिका जीवित छन् भने ८ जना बालबालिकाको मृत्यु भइसकेको छ ।

जिल्लामा ७६ जना महिला र ८७ जना पुरुष गरी १ सय ६३ जनामा एचआइभी संक्रमित छन्,भने १ सय २९ जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन् ।

३४ जना संक्रमित अझैपनी औषधि सेवनको दायरामा आउन सकेका छैनन् । 

एचआइभी सङ्क्रमितले खाने एआरटि औषधि जिल्ला अस्पतालमा निःशुल्क पाइन्छ ।

औषधि सेवन गर्न थालेपछि घरपरिवार र समाजमा थाहा हुने र आफूलाई हेर्ने दृष्टिकोणमा फरक पर्ने डरले औषधि सेवन नगर्ने तथा परीक्षण पनि नगराउने भएका कारण संक्रमित बढ्न सक्ने एआरटि काउन्सीलर हरि पाण्डेको भनाई छ ।

एचआईभि संक्रमण भएपश्चात् पनि नियमित औषधिको सेवन गरे शरीरको प्रतिरक्षा शक्ति वृद्धि भई सामान्य मानिस सरह बाच्न सक्ने भएकाले सबै सङ्क्रमितलाई परीक्षण गराई नियमित औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बिकले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button