तपाईँ सुन्दै हुनुहुन्छः

स्तरोन्नतिको चरणमा रहेको कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी खण्ड अलपत्र 

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक आयोजना अलपत्र बनेको छ । 

ठेकेदार कम्पनीले काम बीचैमा छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । 

सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ ।

ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चार महिना अघिसम्म काम गरेको ठेकेदार सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । 

सडक अस्तव्यस्त हुँदा सर्वसाधारणहरूले सास्ती भोग्नुपरेको छ । १३ किलोमिटर लामो यो खण्डमा म्याग्दीको बेनीदेखि छुटेका सवारीसाधनहरू मालढुङ्गा पुग्न डेढ घण्टासम्म समय लाग्ने गरेको छ ।

बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटकहरूले सडकको दुरवस्थाका कारण घण्टौँसम्म जाममा फस्नुपरेको गुनासो गरेका छन् । 

वर्षातका समयमा सडक माथिबाट खसेको पहिरो, खाल्टाखुल्टी र अस्तव्यस्त तरिकाले छाडिएका निर्माण सामग्रीका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको गुनासो बढेको छ ।

राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनाको २०७७ चैतमा ठेक्का सम्झौता भएको थियो । बेनी –जोमसोम –कोरला सडक आयोजनाले रु.५२ करोड ८६ लाखमा ३१ हजार दुईसय ८१ रुपियाँमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ठेक्का सम्झौता गरेको हो ।

निर्माणको जिम्मा लिएको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले अघिल्लो वर्ष सडक स्तरोन्नति थालेको थियो । 

पछिल्लो समय ठेकेदारकाबीच एकआपसमा विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताउनुभयो । ठेकेदारहरूका बीच एकआपसमा विवाद उत्पन्न हुँदा योजना प्रभावित बनेको उहाँको भनाई छ । 

आयोजनाका अनुसार अहिलेसम्म २४ प्रतिशत भौतिक प्रगति भएको छ ।

आगामी २०७९ को चैत सम्म मसान्त सम्म योजना सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदारले ढिलासुस्ती गर्दा समयमै योजना सम्पन्न हुने देखिँदैन । ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने योजनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button