तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा निषेधाज्ञा तोडेपछि विद्यार्थीमाथि प्रहरीको धडपकड

धनगढी । कैलालीको धनगढीमा न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले धडपकड गरेको छ ।

ग्रेडरले किचेर साइकलमा विद्यालय जाँदै गरेकी छात्रा चेतना साउदको मृत्यु भएपछि न्यायको माग गर्दै आज पनि बिहानैदेखि हसनपुर क्षेत्रमा विद्यार्थीहरूले प्रदर्शन शुरु गरेका थिए ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका विधार्थीहरुलाई प्रहरीले बल प्रयोग गरि धडपकड गरेको प्रत्यक्षदर्शीको भनाई रहेको छ। शान्ती सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र प्रदर्शन गरेको देखिएकाले केहीलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार सडक निर्माणका क्रममा चालकले ग्रेडर ब्याक गर्दा किचेर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत छात्रा चेतना साउदको मृत्यु भएको थियो । बिहीबार बिहान साइकलमा विद्यालय जाँदै गरेकी चेतनाको ग्रेडरले किचेर मृत्युपछि आक्रोशित विद्यार्थीहरूले  बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए । त्यस क्रममा केही ठाउँमा प्रहरीसँग झडप भएको थियो भने प्रहरीले तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि उनीहरुलाई साँझ नै प्रहरीले छाडेको थियो ।

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि सुरक्षा व्यवस्था सुदृढ पारिएको र हसनपुरसहित आसपास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

लगातारको प्रदर्शनपछि असहज स्थिति उत्पन्न हुँदा स्थानीय प्रशासनले बिहीबार साँझ ७ बजेदेखि लागू हुने गरि धनगढीमा अर्को आदेश नभएसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो । 

अराजक गतिविधि नियन्त्रण, सर्वसाधारणको जनधनको रक्षा, सरकारी सम्पत्तिको संरक्षण गरि शान्ति सुव्यवस्था कायम गर्न भन्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले धनगढी उपमहानगरपालिका क्षेत्रको चार किल्ला (पूर्वमा वडा नं १ फूलबारी पुरानो बसपार्क, पश्चिमतर्फ वडा नं ४ रातो पुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्र, दक्षिणमा वडा नं १ र २ स्थित हुलाकी राजमार्ग) भित्र लागू हुने गरि निषेधाज्ञा आदेश जारी गर्नुभएको थियो । 

धनगढीमा आज पनि निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button